सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ मा रहेको काउलेखोला लिफ्ट सिचाइ आयोजनामा ठेकेदार र स्थानीय तहको मिलेमतोमा भएको भनिएको अनियमितताप्रति उपभोक्ताहरू असन्तुष्ट। १५ दिनभित्र पुनःअनुगमन नभए अख्तियार जाने चेतावनी। गाउँपालिका र ठेकेदारले आरोप अस्वीकार।
मंसिर ५, सिन्धुली । गोलञ्जोर गाउँपालिका–५ नयाँखर्कस्थित काउलेखोला लिफ्ट सिचाइ आयोजना चरम अनियमितता भएकाे आरोप लगाउँदै स्थानीय उपभोक्ताहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन् । संघीय सरकारको ससर्त कार्यक्रम मार्फत निर्माणाधीन उक्त आयोजना उपभोक्ताको रोहवर बिना नै भुक्तानी टुंग्याइएको, लागत स्टमेटअनुसार गुणस्तर परीक्षण नगरिएको र ठेकेदारलाई अपूर्ण काममै रकम भुक्तानी गरिएको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीय उपभोक्ताहरूका अनुसार काम अधुरो छाडेर भुक्तानी गरिएपछि स्थानीयले अनियमितताको आरोप गाउँपालिकाका पदाधिकारीसम्म पुगेको छ। अनुगमन समिति संयोजकसमेत रहेका गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष आयाेजना निर्माण स्थलमै उपस्थित नभई अनुगमन प्रतिवेदन तयार पारी ‘काम सम्पन्न’ भन्दै रकम निकासा गराएको उपभोक्ताहरूको गुनासो छ ।
कात्तिक ३० गते बसेको उपभोक्ताको आम भेलाले १५ दिनभित्र पुनःअनुगमन नगरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अन्य माथिल्ला निकायसम्म उजुरी लैजान सर्वसम्मत निर्णय गरेको काउले खोला लिफ्ट सिचाई उपभोक्ता समितिका अध्यक्ष कुमारलाल श्रेष्ठले बताए ।
गाउँपालिकाको प्रतिक्रिया
गोलञ्जोर गाउँपालिका उपाध्यक्ष पुकार न्यौपानेले आयोजनामा भएको कामकै आधारमा भुक्तानी गरिएको दाबी गर्दै आयाेजना सम्पन्न भएर पानी संचालन नभएकाेले उपभोक्ताको असन्तुष्टि स्वाभाविक भए पनि त्यहाँ स्टमेट अनुसार काम नभएकाे भन्ने चाहि निराधार आराेप भएकाे उपाध्यक्षकाे खण्डन रहेकाेछ । उनका अनुसार “स्टमेटअनुसार सम्पन्न भएका कामअनुसारको भुक्तानी मात्र भएको” बताए । उनकाे भनाइ अनुसार हामीले प्राविधिक स्टमेट अनुसार काम भए नभएकाे हेरेरनै भुक्तानी गरेका हाैं ।
ठेकेदारको भनाइ
६० लाखको ठेक्कामा करिब ५१ लाखको ठेक्का पारेर ९० प्रतिशत काम सम्पन्न गरेको ठेकेदार दिपक थापाको दाबी छ । उनका अनुसार थ्री–फेज लाइन नहुँदा आयोजना पूर्ण रूपमा सञ्चालनमा जान नसकेको र स्टमेटमै लाइन विस्तारको व्यवस्था नहुँदा बाँकी समस्या उत्पन्न भएको हो । तर त्यहाँ गुणस्तर अनुसारकाे काम नभएकाे, कमजाेर संरचना बनाएकाे भन्ने आराेप प्रतिशाेधकाे भएकाे उनले बताए । उनले भने यदि गुणस्तरहिन काम भएकाे थियाे भने प्राविधिकले के आधारमा अनुगमन गरेर पास गरेकाे हाे त ? उनकाे प्रश्न थियाे । साथै उनले आयोजनामा आवश्यक मोटर तथा उपकरण चोरी हुने सम्भावनालाई ध्यानमा राखेर गाउपालिकालाई जिम्मा लगाइएकाे उनले बताए ।
स्थानीयको थप आरोप
५७ जनाले हस्ताक्षर गरेको सामूहिक गुनासोमा स्थानीय उपभोक्ता कृष्णकुमार थापाले निर्माणको सुरु दिनदेखि नै गुणस्तरहीन काम गर्ने प्रयास भएको आरोप लगाए । “ढलानका बेला सिमेन्ट–बालुवाको उचित रेसियो नअपनाई मिक्सचर बिना ढलान गर्न खोज्दा हामीले रोकेपछि ठेकेदारले प्रतिशोधस्वरूप ‘काम गर्यो’ भनेको हो,” उनले बताए । अनुगमन समितिका संयोजक एक दिन पनि फिल्डमा नआउँदा पनि ‘स्टमेटअनुसार काम भयो’ भन्दै भुक्तानी दिनुले गाउँपालिकासँगको मिलेमतो पुष्टि हुने स्थानीयको आरोप छ ।
उपभोक्ताहरूको दाबी, ठेकेदार र गाउँपालिकाको बचाउ तथा अनुगमन व्यवस्थामा देखिएको कमजोरीले काउलेखोला लिफ्ट सिचाई आयोजना विवादको केन्द्रमा पुगेको छ । अब गाउँपालिकाको आगामी कदमले विवादको दिशा निर्धारण गर्ने देखिन्छ ।



