प्रविधि र स्वादको संगमसहित राजधानीमा साताव्यापी सिन्धुली जुनार मेला सुरु भएको छ। क्युआर कोड ट्रेसएबिलिटीदेखि हट जुनार जुससम्म, जुनारको आधुनिक यात्रा ।
काठमाडौँ, २ पुस । सिन्धुलीको पहिचान बनेको जुनार अब केवल नुन–खुसानीमा साँधेर खाने फलमा सीमित छैन । प्रविधि, बजार र रचनात्मक पाककलाको संगमसँगै सन्धुलीको जुनार राजधानीमा नयाँ पहिचानसहित प्रस्तुत भएको छ । सिन्धुलीको सुप्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्दै यसको बहुआयामिक स्वाद र प्रयोग उपभोक्तासम्म पु¥याउने उद्देश्यसहित ललितपुर–काठमाडौँ क्षेत्रमा साताव्यापी ‘सिन्धुली जुनार मेला’ सुरु भएको हो ।
गोलञ्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार प्रवर्धन मेला २०८२’ लगत्तै राजधानीमा आयोजना गरिएको यो प्रवद्र्धनात्मक मेलाले सिन्धुली र काठमाडौँ बीच स्वाद र प्रविधिको सेतु निर्माण गरेको छ । स्टोरी साइकल, स्मार्ट एग्रीकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालित यस मेलाले पाँचौँ वर्षको निरन्तरता पूरा गरेको छ । यस वर्ष विशेष रूपमा गोलञ्जोर गाउँपालिकाको रतनचुरा र चिसापानी क्षेत्रका बगैँचाबाट उत्पादन भएको जुनारलाई मुख्य ब्रान्डका रूपमा प्रस्तुत गरिएको छ ।
सृजनशील कृषि फार्मका सञ्चालक योगेन्द्र थापाका अनुसार विगत पाँच वर्षको निरन्तर प्रयासले सिन्धुलीको जुनारलाई राजधानीमा छुट्टै पहिचान दिलाएको छ । उनका अनुसार सुरुका दिनमा स्वाद र पहिचानमा सीमित जुनार अहिले किसान, कथा र प्रविधिसँग जोडिएको विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ ।

यस वर्षको मेलाको सबैभन्दा ठूलो आकर्षण आधुनिक प्रविधिको उच्चतम प्रयोग हो । योजना टेक्नोलोजी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा कृषकका बगैँचा र रुखहरूको डिजिटल नक्सांकन गरिएको छ । करेशा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यस प्रविधिले कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित विवरण किसान र सहकारीलाई पहिल्यै उपलब्ध गराउँछ, जसले उत्पादन, बजार र आपूर्तिको योजना बनाउन सहज बनाएको छ ।
उपभोक्ताले जुनारमा राखिएको क्युआर कोड स्क्यान गरेर फल कुन बगैँचाबाट आएको हो, कहिले टिपिएको हो र सम्बन्धित कृषक को हुन भन्ने सम्पूर्ण विवरण सहितको ट्रेसएबिलिटी यात्रा सजिलै हेर्न सक्नेछन । यसले उपभोक्ता र किसानबीच विश्वासको सम्बन्ध थप मजबुत बनाएको आयोजकहरूको दाबी छ ।

मेलाले जुनारलाई परम्परागत नुन–खुसानीको स्वादभन्दा धेरै अगाडि लैजाने प्रयास गरेको छ । रैथानेका सञ्चालक जेसन शाहका अनुसार जुनारलाई ‘फल’ मात्र नभई ‘फुड एक्सपिरियन्स’ का रूपमा स्थापित गर्नु मेलाको मुख्य लक्ष्य हो । मेलामा जुनारबाट बनेका केक, आइसक्रिम, सलाद, क्रेप सुजेट र ताजा जुसको स्वाद लिन सकिन्छ । चिसो मौसमलाई लक्षित गरी तयार गरिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग मिश्रित ‘जुनार जेस्ट’ ले आगन्तुकलाई बिल्कुल नयाँ स्वाद अनुभूति गराइरहेको छ ।

यस वर्ष उपभोक्ताको पहुँच सहज बनाउन हाटहरूको संख्या र स्थान पनि विस्तार गरिएको छ । पुस ३ गते भनिमण्डल हाटबाट सुरु हुने मेला पुस ४ र ५ (शुक्रबार दिउँसो १ बजेदेखि शनिबार विहान ६ देखि ११ बजेसम्म) हुनेछ । साझा सहकारी हाट, पुस ६ गते आइतबार, जाउलाखेल हाट पुस ५ र ६ गते (शुक्रबार–शनिवार), रैथाने रेस्टुरेन्ट (परिकार मेला) पुस ८ गते मंगलबार धोविघाट–झम्सिखेलमा आयोजना केन्द्रित हुनेछ । प्रत्यक्ष रूपमा मेलामा पुग्न नसक्ने उपभोक्ताका लागि काठमाडौँ अर्गानिक्सको वेबसाइटमार्फत अनलाइन अर्डर गरी घरमै जुनार मगाउने व्यवस्था पनि मिलाइएको छ ।
स्टोरी साइकलकी सञ्चालक दीपिका ज्ञवालीका अनुसार कृषि क्षेत्रलाई जलवायुमैत्री बनाउँदै प्रविधिमार्फत बजारसँग जोड्ने अभियानमा आफूहरू निरन्तर लागिरहेको छ । गोलञ्जोर गाउँपालिकाका प्रमुख कृषि अधिकृत चन्द्रकान्त चौधरीले यस्ता मेलाले सन्धुली जिल्लामा एक हजार हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको जुनार खेतीलाई प्रत्यक्ष बजारसँग जोडेर किसानलाई आर्थिक लाभ दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर गाउँपालिकाका १ देखि ६ वडासम्म र तीनपाटन–७ तोश्राखोलामा फैलिएका बगैँचामध्ये सबैभन्दा बढी जुनार खेती गोलञ्जोर क्षेत्रमा हुने गर्दछ । यही मेलामार्फत ‘गोलञ्जोर जुनार’ ले छुट्टै विशिष्ट पहिचान बनाउने अपेक्षा समेत गरिएको छ ।
सन्धुलीको जुनारको कथा भने आजको प्रविधिमा मात्र सीमित छैन । विसं १९८५ तिर सन्धुलीका कहरसिंह हायु मुद्दाको सिलसिलामा काठमाडौँ आउँदा तत्कालीन मुख्तियार भीमशमशेरको दरबार पुगेका थिए । दरबारमा आएको एउटा रसिलो अज्ञात फल उनले खान पाएनन, तर अरूले फालेको बिजु विया टिपेर गोजीमा हाले र सिन्धुली लगे । त्यही ‘कहरसिंहको बिजु विया’ बाट सुरु भएको जुनार खेतीले आज झण्डै एक शताब्दी पछि प्रविधिको काँध चढेर राजधानीको डिजिटल हाट र आधुनिक भान्सासम्मको यात्रा तय गरेको छ ।
हिजो दरबारको चौरबाट गोजीमा हालिएको एउटा बिजु, आज क्युआर कोडमार्फत किसानको कथा बोकेर उपभोक्ताको हातसम्म पुग्दैछ । यही यात्राले सिन्धुलीको जुनारलाई केवल फल होइन, पहिचान, इतिहास र भविष्यको प्रतीक बनाएको छ ।



