सिन्धुली, २५ असार ।
आज दिउँसो करिब ११:३० बजे सिन्धुलीको आकाशमा एक दुर्लभ प्राकृतिक दृश्य देखियो, जसले धेरै मानिसहरूलाई चकित बनायो । सूर्यको चारैतिर फैलिएको गोलो इन्द्रेणी जस्तो घेरा, जुन आकाशको विशाल पर्दामा रंगीन मुकुटजस्तो टाँसिएको थियो, धेरैका लागि आश्चर्यको विषय बन्यो। स्थानीय बासिन्दाहरूले यसलाई ‘इन्द्र सभा’ भएको भनेर व्याख्या गरे । खासगरी ग्रामीण भेगका बुढापाका, पुजारी र ज्योतिषीहरूले यस्तो दृश्यलाई “देवता आकाशमै भेला भएका छन्” भन्ने विश्वाससँग जोडेर हेर्छन् ।
यस दृश्यलाई वैज्ञानिकहरूले भने “Sun Halo” अर्थात् सूर्य वलय भन्छन् । मौसमविद्हरूका अनुसार सूर्य वरिपरि देखिने यस्तो गोलो घेरा विशेष प्रकारको बादल (cirrostratus) मा रहेका साना साना हिउँका क्रिस्टलहरूमा सूर्यको प्रकाश परेर अपवर्तन र परावर्तन हुँदा देखिने हो । सूर्यको प्रकाश ती हिउँका कणभित्र पसी २२ डिग्रीको कोणमा मुडेर निस्कँदा यस्तो गोलो घेरा बन्न पुग्छ । यसै कारण यसलाई ‘२२ डिग्री Halo’ पनि भनिन्छ । यस्तो दृश्य प्रायः उच्च आर्द्रता भएको अवस्थामा देखिन्छ, जसपछि प्रायः वर्षा हुने सम्भावना रहन्छ ।

नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, “सूर्य वरिपरि Halo देखिनु भनेको वातावरणमा उच्च आर्द्रता छ भन्ने संकेत हो । यस्तो अवस्थामा सामान्यतः २४–४८ घण्टाभित्रै स्थानीय स्तरमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहन्छ ।” यो प्राकृतिक प्रक्रिया भए पनि, त्यस्ता दृश्यले कहिलेकाहीँ हाम्रो परम्परागत धार्मिक विश्वाससँग पनि गहिरो सम्बन्ध राख्छ ।

हिन्दू धार्मिक मान्यताअनुसार सूर्यलाई देवताको रुपमा पूजा गरिन्छ । कतिपय शास्त्रहरूमा सूर्य वरिपरि यस्तो घेरा देखिनुलाई सूर्य देवताको विशेष रूपको दर्शन मानिन्छ । पण्डित माधव शर्माले भने, “जुन दिन आकाशमा यस्तो घेरा देखिन्छ, त्यो दिनलाई शुभ मानिन्छ तर साथसाथै कुनै ठूलो परिवर्तनको सङ्केत पनि मानिन्छ । खासगरी यस्तो दृश्य साउन, असार, चैत जस्ता मौसमको सङ्क्रमणकालमा देखिन्छ । यसले धार्मिक दृष्टिले पूजा, प्रार्थना र आत्म–चेतनाको समय आएको जनाउँछ ।”

स्थानीय बासिन्दा लक्ष्मी घिमिरे, भन्छिन, “सानो छँदा हाम्ले यस्तो इन्द्रेणी देख्दा घरमा बज्यैले त ढोका थुनेर दीप जलाउनु भन्थिन् । हामी त डराउँथ्यौं नि – देवता रिसाए कि भनेर ।” यस्तै अनुभव धेरै बुढापाकाहरूले सुनाउँछन्, जसमा यस्तो दृश्यलाई असामान्य घटना वा ‘प्राकृतिक प्रकोप आउनसक्ने’ चेतावनीका रूपमा बुझिन्छ ।
आज देखिएको ‘इन्द्र सभा’ केवल वैज्ञानिक दृष्टिकोणले मात्र होइन, सांस्कृतिक चेतनाले पनि भरिएको दृश्य थियो। यो दृश्यलाई धेरैले मोबाइलमा कैद गरे, सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल भए। कतिले “प्रकृतिको चेतावनी” भन्दै पोस्ट गरे, कतिले “देवता देखापरे” लेखे । सूर्य वरिपरि फैलिएको त्यो घेरा कुनै चलचित्रको विशेष प्रभावजस्तो लाग्थ्यो, तर त्यो एकदम वास्तविक थियो – प्रकृतिको आफ्नै अभिनय ।
‘इन्द्र सभा’ भन्ने नामले यस दृश्यको लोकभाषामा रहेको गहिरो भाव दर्शाउँछ । विज्ञानले यथार्थ बताउँछ – हिउँका क्रिस्टल र सूर्यको अपवर्तनले बनाएको घेरा । तर मानिसको मनले त्यहाँ देवता देख्छ – देवताको उपस्थितिको अनुभूति गर्छ । यही त हो, जहाँ विज्ञान र विश्वासको संवाद सुरु हुन्छ – जहाँ आकाशले संकेत गर्छ, र हामी सुन्ने चेष्टा गर्छौं ।
यदि तपाईंले पनि आजको ‘इन्द्र सभा’ देख्नुभयो भने, तपाईंकाे अनुभव हामीसँग शेयर गर्नुहोस्। क्लिक चाैतारीमा हामी तपाईंकाे दृष्टिकोणलाई पनि स्थान दिन चाहन्छौं ।