🔹 हराइरहेका सदस्यहरूमा आमा, छोराछोरी, बुहारी, नाती–नातिनी सबै समावेश छन् ।
।
🔹 घरको भान्सा भागमा मात्रै आगलागी, बाँकी घर सुरक्षित छ ।
🔹 चौपाया खुला अवस्थामा, घर छरपस्ट — तर परिवार कहीं छैन
🔹 मोबाईलहरू सम्पर्कविहीन, अन्तिम लोकेशन रामेछाप देखिएकोले खोजी टोली त्यता परिचालित ।
सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा स्थित बिखेर कटेरीमा बसोबास गर्ने एकै परिवारका १६ जना सदस्य केही दिनदेखि सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटना गम्भीर र संकास्पद भएको जनाउँदै खोजी कार्यमा सबै संयन्त्र प्रयोग गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार वेपत्ता हुने परिवार दिवंगत सने हायुका श्रीमती सुधा हायु, उनका छोरा–छोरी, बुहारी, नाति–नातिनीसहित १६ जना रहेका छन् । सम्पर्कविहीन परिवारका सदस्यहरूको विवरण निम्नानुसार रहेको छ ।
वेपत्ता परिवारका सदस्यहरू:-
उर्मिला हायु, ५२ वर्ष (आमा), राजु हायु, २९ वर्ष (छोरा), हिमाल हायु, २४ वर्ष (छोरा), लाल बहादुर हायु, १६ वर्ष (छोरा), बेग बहादुर हायु, १४ वर्ष (छोरा), लक्की हायु, ११ वर्ष (छोरा), सुवर्ण हायु, १२ वर्ष (छोरा), कमला हायु, २७ वर्ष (छोरी), उषा हायु, २२ वर्ष (छोरी), सुजता हायु, १९ वर्ष (छोरी), अस्मिता हायु, १८ वर्ष (छोरी), सान्ता हायु, १२ वर्ष (छोरी), ओमकुमारी हायु, १० वर्ष (छोरी), कोमल माया हायु, २३ वर्ष (बुहारी), अर्जुन हायु, १ वर्ष (नाती) रियासा हायु, ४ वर्ष (नातिनी)
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार घटनाको सुराकी रामेछापमा एक मोबाइल नम्बरको लोकेशन देखिएपछि खोजी टोली त्यता पठाइएको छ। “विगत तीन दिनदेखि ती सबैको मोबाइल फोन स्वीच अफ छ, हामीले प्राप्त सबै सम्भावित लोकेशनहरूमा अनुसन्धान गरिरहेका छौं, ” सुवेदीले बताए ।
प्रहरीका अनुसार केही दिन अघि मात्र परिवारले सामाजिक सुरक्षा भत्ता पाएको थियो। साथै, परिवारका एक सदस्य हालै मात्रै विदेशबाट फर्किएको, वताइएकोछ ।
घटनास्थलमा रहेका स्थानीय बासिन्दाका अनुसार, घरको सानो पालिमा भएको भान्साको भागमा मात्र आगलागी भएको छ भने घरको अन्य भाग सुरक्षित छ। करिव २ धार्नी काचो सुंगुरको मासु, छरिएको लुगाफाटा, भाँडाकुँडा, खुल्ला अवस्थामा रहेका चौपाया जनावर र यत्रतत्र अस्तव्यस्त सामग्रीले घटनालाई अझै रहस्यमय बनाएको छ ।
घटना खुलासा त्यतिबेला भयो जब घरदेखि झण्डै १५ मिनेटको दूरीमा बाँधिएको भैंसीलाई घाँस हाल्न कोही नआएको स्थानीयले देखेपछि अवस्था सार्वजनिक भएको थियो। प्रहरीको भनाइ अनुसार, घटना हुनुभन्दा केही अघि मात्रै मृतक सने हायुको अस्थिपञ्जर मात्र रहेको शव जंगलमा फेला परेको थियो ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीले नागरिकहरूसँग सहयोगको अपिल गर्दै सूचना भए सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।