सिन्धुलीको जाँते खोलामा अवस्थित रहस्यमय गुफाभित्रको महादेव मन्दिर धार्मिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय सम्भावनायुक्त स्थल हो।
१४ साउन, सिन्धुली । सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–३ मा अवस्थित जाँते खोलाको माथिल्लो भेगमा एक अनौठो र रहस्यमय गुफाभित्र रहेको महादेव मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटकीय सम्भावनाले भरिएको स्थलका रूपमा चिनिन थालेको छ ।
स्थानीय खर्क क्षेत्र अर्थात् परम्परागत गाई चराउने ठाउँमा २०४० सालतिर गोठालाहरूले पहिलोपटक पत्ता लगाएको यो गुफा, समयसँगै जनविश्वास र श्रद्धाको केन्द्र बन्न पुगेको हो । “गाईहरू एकनासले एउटा ठाउँमै बस्न थालेपछि खोज्दै जाँदा गुफाभित्र महादेवको मन्दिर भेटिएको थियो,” स्थानीय भरत राउत सम्झन्छन्, “त्यसपछि त हामीले पूजापाठ सुरु गर्यौं ।”
यो मन्दिर विशेष गरी आफ्नो प्राकृतिक बनावटका कारण पनि चर्चित छ। मन्दिरभित्र स्वाभाविक रूपमा बनेको शिवलिंग, गणेशको मूर्ति, साथै ‘पापद्धार’ र ‘धर्मद्धार’ रहेको जानकारी वडा अध्यक्ष गोविन्द राउतले दिनुभयो। शिवलिंगमाथि गाईको थुनबाट निरन्तर चुहिने पानीको दृश्यले यहाँको धार्मिकता झनै रहस्यमय बनाएको छ ।
गुफा वरपरका दहहरू — रानी दह, राजा दह र अन्य साना झरनाहरू — ले यो स्थानलाई एक सुन्दर प्राकृतिक उद्यानजस्तै बनाइदिएको छ। “यो स्थानलाई धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि प्रवर्द्धन गर्न सकिने धेरै सम्भावना छ,” वडा अध्यक्ष राउत भन्नुहुन्छ, “तर अझै प्रचार–प्रसार नहुँदा यो गन्तव्य ओझेलमा परेको छ ।”
प्रवर्द्धनका लागि प्रयास सुरु
हाल झुगा सामुदायिक वनको अगुवाइमा मन्दिरसम्म पुग्न सकिने सिँढी निर्माण कार्य अगाडि बढिरहेको छ। झन्डै ७ किलोमिटर टाढाबाट पहाडी बाटो हुँदै जानुपर्ने मन्दिरसम्मको यात्रा सहज बनाउन वडाले समन्वय गर्दै आएको छ ।
“विकट स्थानमा रहेको हुँदा हिँडडुल गर्न असजिलो हुन्थ्यो,” वडा अध्यक्ष राउत बताउनुहुन्छ, “अब सिँढी बनेपछि वृद्धवृद्धा, बालबालिकालगायत सबै उमेर समूहका पर्यटक र भक्तजन सजिलै पुग्न सक्नेछन् ।”
शिवरात्रिमा मेला, भाकलमा भीड
शिवरात्रिका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। साथै, भाकल पूर्ति गर्न आउने स्थानीय श्रद्धालुको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।
स्थानीय सरकार र समुदायले संयुक्त प्रयास गर्दै यस धार्मिक स्थललाई आगामी दिनमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजना बनाइरहेका छन् । प्रचार–प्रसार, पहुँच सुधार, पूर्वाधार विकास र धार्मिक पर्यटकको आकर्षण वृद्धि गर्न समर्पित कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको वडाले जनाएको छ ।
यदि पर्यटकीय नजरले यसको व्यवस्थापन र प्रवर्द्धन गरियो भने, सिन्धुलीको जाँते खोला क्षेत्र केवल गाई चराउने खर्क मात्र नभई आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।