Click Chautari

मरिणको पानी लिफ्टबाट खेतमा, किसान खुशी

मरिण गाँउपालिका–३ चनौटेमा यो बर्ष निर्माण गरिएको लिफ्ट सिंचाई योजना ।
Advertisement

सिन्धुलीमाढी, साउन १८ । डिलमुनी बाह्रै महिना मरिण खोला बग्छ । तर झण्डै एक हजार पाँच सय मिटर माथि डाँडाको उर्बर जमिनमा सिंचाई गर्न सधै पानीको अभाव । यो मरिण गाँउपालिका–३ चनौटेका किसानले बर्षौदेखि भाग्दै आएको पीडा हो ।

सङ्घिय सरकारको आर्थिक सहयोगमा उक्त ठाँउमा यो बर्ष मरिणखोला लिफ्ट सिंचाई योजना निर्माण सम्पन्न भएसँगै चनौटेका झण्डै सय किसानलाई बाह्रै महिना सिंचाई सुविधा उपलब्ध भएको छ । सङ्घिय सरकारको करिब ५५ लाख रुपिया सहयोगमा उक्त सिंचाई योजना सम्पन्न भएको मरिण गाँउपालिकाले जनाएको छ ।

Advertisement

मरिणखोला लिफ्ट सिंचाई योजना सम्पन्न भएसँगै आफ्नो डेढ विघा खेतमा बाह्रै महिना सिंचाई सुविधा पुगेको स्थानीय किसान भिमबहादुर माझी खुशी व्यक्त गर्नुहुन्छ । ‘नत्र सिंचाईका लागि आकासबाट पर्ने पानीको भर पर्नु बाहेक अर्को बिकल्प थिएन,’ उहाँले भन्नुभयो, ‘अब भने सिंचाईका लागि ढुक्क भएको छ । चनौटेका खेतबारी बाह्रै महिना हराभरा हुने भएको छ ।’

सिंचाई सुविधा उपलब्ध भएकाले यो बर्ष रोपाँई गर्न बेलैमा पाएको उहाँले सुनाउनुभयो । उक्त वडाका अध्यक्ष जितबहादुर श्रेष्ठका अनुसार उक्त सिंचाई योजना गत पुस महिनादेखि निर्माण सुरु भएको थियो । योजना निर्माण सम्पन्न गर्न स्थानीय उपभोक्ताले पोल बोक्ने, गाड्ने, तार तान्ने, पाईप लाईन बिस्तार लगायतका काममा श्रमदान समेत गरेका छन् ।

‘सिंचाईको अभावमा यो ठाँउमा हिउदे बाली देख्न पाईदैनथ्यो, जमिन भएर पनि सिंचाईको अभावमा सँधै बाझै बस्दथ्यो,’ उहाँले भन्नुभयो, ‘मरिण खोलामा ईनार बनाई बिजुलीको मोटरको सहयाताले पानी तानेर झण्ढै एक हजार पाँच सय मिटर माथि डाँडामा पोखरीमा पानी सङ्कलन गरीएको छ । सङ्कलन गरिएको उक्त पानी पाईप मार्फत किसानको खेतसम्म पुग्ने व्यवस्था गरिएको छ ।’

पाईपमा ३०–३० मिटरको फरकमा गेटबल जडान गरि किसानलाई पालैपालो खेतबारी सिंचाई गर्ने व्यवस्था मिलाईएको छ । उक्त योजनाबाट दुई सय विघा भन्दा बढी खेतमा बाह्रै महिना सिंचाई सुविधा पुगेको मरिण गाँउपालिकाले जनाएको छ । गाँउपालिका अध्यक्ष बिमर्श मुक्तान उक्त योजना मरिणको ऐतिहासिक योजना रहेको बताउनुहुन्छ ।

Advertisement

चनौटेमा बिजुली बिस्तार, घर–घरमा धारा, विद्यालय, सिंचाई सुविधा पुगि सकेको र अब सडक पनि कालो पत्रेका लागि ठेक्का लागि सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चनौटेका जनताले विकासको आधारभुत सुविधा पाएका छन् ।’

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.