सिन्धुली, भदौ ४ ।
सिन्धुली जिल्लामा यो बर्ष बर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै किसानको खेती योग्य जमिन कटानको चपेटामा परेको छ ।जिल्लाको कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरे लगायतको खोलामा आएको बाढीले किसानको खेत कटान गरेको स्थानीयले बताएका छन् । मरिण खोलामा आएको बाढीले कमलामाइ नगरपालिका–१ मा करिब २५० बिघा उर्बर जमिन कटान गरेको स्थानीयले बताएका छन् । मरिण खोलाको बाढीले यो बर्ष उक्त वडाको वाईवाटारदेखि जखनी कुण्डसम्म १५ कठ्ठा भन्दा बढी जमिन कटान भएको वडा अध्यक्ष नरेश गोलेले जानकारी दिनुभयो ।
उहाँले कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा वडा कार्यालयकै तर्फबाट उक्त क्षेत्रमा भएको कटान र विस्थापनलाई रोक्न तत्काल संरक्षणको व्यवस्था गर्न लिखित रुपमा माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मरिणको कटानका कारण उक्त ठाँउमा दर्जनौ घर परिवार बिस्थापित हुने अवस्था पनि आएको छ । उक्त समस्या लिएर स्थानीय सहित जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकामा डेलिगेशन गएर ध्यानाकर्षण गराएका छौं ।’
उक्त क्षेत्रमा भएको नदि कटान नियन्त्रणका लागि तटबन्ध गर्न वडाको बजेटले नभ्याउने भएकाले नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई गुहार्नु परेको उहाँको भनाई छ । त्यस्तै दुधौली नगरपालिका–१ स्थित विचित्रा खोलामा आएको बाढीले दश घर जोखिममा परेको छ । उक्त खोलामा आएको बाढीबाट दश घर डुवानमा परि जोखिममा परेको स्थानीय कमल अधिकारीले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार बर्सेनि बढ्दै गएका वन बिनास, जथाभावि जताजतै खनिएका सडक, नदि तथा खोलाहरुको दोहनका कारण आएको बाढी, पहिरोका कारण जिल्लाका किसानको हजारौं बिगाहा जमिन बगरमा परिणत बन्दै गईरहेको छ ।
बढ्दै गएको चुरे जङ्गलको विनासले नै बर्सेनि नयाँ खहरे जन्मिने गरेको र खहरे आसपासका बस्ती बाढीपहिरोबाट बढी प्रभावित बनेको कमलामाई नगरपालिका–१३ निवासी शिक्षक पुजन बख्रेलले बताउनुभयो ।
तीनपाटन गाँउपालिका–१ का वडा अध्यक्ष गोविन्द राउतले पनि चँदाहा खोलामा बर्सेनी आउने बाढीको कटानबाट सिन्धुली जिल्लाको पूर्वि पहाडी क्षेत्रको मुख्य अन्नभण्डार तीनपाटन क्षेत्र मासिदै गएको बताउनुभयो । उहाँका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्बर भुमिको रुपमा परिचित तीनपाटन फाँट बर्सेनि बगरमा परिणत बन्दै गएको छ ।
चँदाहाखोलाको कटानबाट तीनपाटन गाँउपालिका–१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिगाहा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भई सकेको र यो बर्ष कटानको चपेटामा परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चँदाहा खोलाले तीनपाटन क्षेत्रमा २०२२ सालदेखि कटान गर्न सुरु गरेको हो । २०४१ सालमा सेती पहिरोले हाडी खोला थुनेपछि फुटेको ड्यामले तीनपाटन क्षेत्रमा सबैभन्दा बढी क्षेती गराएको हो । उक्त ड्याम फुटेपछि बाढीसँगै बगेर आएको ढुङगामाटोले खोलाको सतह माथि ल्यायो र जथाभावि कटान सुरु ग¥यो ।
‘त्यसपछि चँदाहा खोला कटानको क्षेतिले बर्सेनि निरन्तरता पाई रहेको छ,’ वडा अध्यक्ष राउतले भन्नुभयो, ‘चँदाहाखोलाको कटानकै कारण ३८ बर्षको अवधिमा सुकुम्बासी बनेर अढाई सयभन्दा बढी किसान बिस्थापित भएर हिडेका छन् । खोलाले धार परिबर्तन गरी एकदुई बर्ष वल्लो कुनाबाट र अर्को एकदुई बर्ष पल्लो कुनाबाट बग्दै आएको छ ।’
कमलमाई नगरपालिका–९ बतासेमा कमला नदीले कटान गरेको खेत ।
तस्बिर : बाबुराम देवकोटा