Skip to main content

Click Chautari

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी
Advertisement


काठमाडौं, असार १८ । सरकारले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण कार्य सुरु गरेको छ ।

पहिलो चरणमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त गरेसँगै ती परिवारहरू कानुनी रूपमा आफ्नै नाममा जग्गाको स्वामित्व प्राप्त गर्दै औपचारिक रूपमा जग्गाधनी बनेका छन् ।

वर्षौंदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नहुँदा विभिन्न सरकारी सेवा, बैंकिङ सुविधा तथा विकासका अवसरबाट वञ्चित हुँदै आएका स्थानीयका लागि लालपुर्जा वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अब उनीहरूले आफ्नो जग्गामा कानुनी अधिकार स्थापित गर्नुका साथै आवश्यक परे बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, घर निर्माण गर्न तथा अन्य कानुनी कारोबार गर्न सक्नेछन् ।

Advertisement

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको मुख्य लक्ष्य रहेको छ । सोही उद्देश्य अनुसार लालपुर्जा वितरण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र तीव्र रूपमा अघि बढाइने मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण कार्यक्रम क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन् ।

उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिचान गरी कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै यस अभियानले सामाजिक न्याय र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

सरकारले देशभरका स्थानीय तहसँग समन्वय गरी वास्तविक लाभग्राहीको पहिचान, नापजाँच तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै चरणबद्ध रूपमा लालपुर्जा वितरण अभियान सञ्चालन गर्ने जनाएको छ । यो अभियानले वर्षौंदेखि समाधानको प्रतीक्षामा रहेको भूमिहीन नागरिकको समस्या समाधानतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.