सिन्धुली, असार ५ ।
सिन्धुली जिल्लाका दुई स्थानीय तहहरू– गोलञ्जोर र घ्याङ्लेख गाउँपालिकाले नयाँ प्रमुख प्रशासनिक भवन निर्माण तीव्र रूपमा अगाडि बढाएका छन् । जिल्लाका ९ वटै पालिकामध्ये यी दुई पालिकामा हाल धमाधम भवन निर्माण भइरहेको हो, भने बाँकी सात पालिकाले आफ्ना भवन निर्माण गरी सेवा प्रवाह सुरु गरिसकेका छन् ।
भाडाको घरबाट प्रशासन सञ्चालन गर्दै आएको गोलञ्जोर गाउँपालिकाले करिब छ करोड ११ लाख ११ हजार रुपैयाँ (भ्याट बाहेक) लागतमा चारतले ३८ कोठे नयाँ भवन निर्माण गरिरहेको छ। अध्यक्ष शंकर बरालका अनुसार सो लागतको ६० प्रतिशत नेपाल सरकार स्थानीय पूर्वाधार कार्यालयले र ४० प्रतिशत पालिकाले व्यहोरेको हो ।
भवन निर्माणको कार्य हालसम्म ९५ प्रतिशत सकिएको छ। निर्माण कार्य २०७८ साल भदौ १२ गते पाइनस कन्ट्रक्सन प्रा.लि.सँग गरिएको सम्झौता अनुसार दुई वर्षमा सम्पन्न गर्ने योजना थियो। तर संघीय सरकारबाट आउनुपर्ने साढे चार करोड रुपैयाँमध्ये अहिलेसम्म करिब ८२ लाख मात्र आएको हुँदा कार्यमा ढिलाइ भएको अध्यक्ष बरालले जानकारी दिनुभयो। भवनको झ्यालढोका र मार्बल जडानको काम बाहेक अन्य कार्य सकिएको छ ।
बरालले भन्नुभयो, “सङ्घीय सरकारले बजेट समयमै नपठाउँदा काम सुस्त भयो, नत्र ठेकेदारले बैशाखमै सक्थे ।” निर्माण कार्यको म्याद आगामी मङ्सिरसम्म रहेको छ ।
त्यस्तै, घ्याङ्लेख गाउँपालिकाले करिब पाँच करोड ६३ लाख २६ हजार ९५ रुपैयाँ लागतमा तीन वर्षदेखि प्रमुख प्रशासनिक भवन निर्माण गरिरहेको छ । संघीय सरकारले ३ करोड ३७ लाख ९५ हजार ६५७ रुपैयाँ र गाउँपालिकाले २ करोड २५ लाख ३० हजार ४३८ रुपैयाँ लगानी गरेको हो ।
प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलका अनुसार हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। स–साना कोठा र दुई छुट्टाछुट्टै स्थानबाट सेवा प्रवाह गर्नु परेकाले सेवामा असर परेको उहाँले बताउनुभयो ।
उक्त भवन निर्माण २०७९ भदौ ३१ गते पिपि ईश्वरी जेभी मन्थली, रामेछापसँग सम्झौता गरी सुरु गरिएको थियो। १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई पटक म्याद थप्दा पनि कार्य अधुरो छ। अहिले कार्यको म्याद २०८२ साल भदौसम्म रहेको छ ।
दुई महिनाअघि मात्र भवनको ढलान सकिएको र हाल गाह्रो लगाउने काम भैरहेको प्याकुरेलले जानकारी दिनुभयो ।
यसैबीच, फिक्कल गाउँपालिकाले झण्डै छ करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरी छिट्टै उद्घाटन गर्ने तयारी गरिरहेको छ ।
दुधौली नगरपालिका, मरिण, सुनकोसी, हरिहरपुरगढी, तीनपाटन गाउँपालिकाले नयाँ भवन निर्माण गरी सेवा सुरु गरिसकेका छन्। कमलामाई नगरपालिकासँग चाहिँ पहिलेदेखि नै आफ्नै प्रशासनिक भवन रहेको छ ।