प्रिया आचार्य (प्रशिक्षार्थी पत्रकार)
सिन्धुलीको जखनीमा वर्षा संगै बाटो बिग्रिँदा शंकरेश्वर माविका बालबालिकाको पढाइ प्रभावित, चिप्लो बाटोले स्कुल जान गाह्रो, स्वास्थ्य सेवामा समेत असर।
जखनी असार ३२ । सिन्धुलीको कमलामाई नगरपालिका–१ जखनीमा बर्खायाम सुरु भएसँगै बाटोको अवस्था निकै बिग्रिएको छ ।
उक्त ठाँउमा बाटोको अवस्था बिग्रिएसँगै गाँउमा रहेको शंकरेस्वर माविमा अध्ययनरत बालबालिकाको पढाई समेत प्रभावित भएको छ । आकासबाट पानी परेपछि हुने हिलो, खाल्टामा जमेको पानीका कारण बालबालिकालाई विद्यालय आउनजान गाह्रो भएको छ ।
स्थानीयका अनुसार गाडी चल्दैन, बाटो चिप्लो भएका कारण मानिसहरु लड्छन् । बिशेषगरी विद्यालय जानु पर्ने साना बालबालिकालाई धेरै समस्या भएको छ । बालबालिकालाई विद्यालय जान ढिला हुने, लुगा फोहोर हुने, र कहिलेकाँही त विद्यालय छुट्ने अवस्था समेत आउने गरेको छ ।
साना बालबालिका स्कूल जाँदा लड्ने खतरा बढेको छ । स्थानीय निकायले पटक पटक मर्मत गर्ने आश्वासन दिए पनि अझैसम्म स्थायी समाधान भएको छैन । स्थानीयहरुले चाँडै बाटो मर्मत गरि दिन माग गरेका छन् । बाटो बिग्रिएसँगै उक्त ठाँउमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी पनि प्रभावित हुने गरेका छन ।
उक्त वडाका अध्यक्ष नरेश गोलेले जखनीमा बाटोको मर्मत सुधारका लागि प्रयास भई रहेको बताउनुभयो ।