Click Chautari

बागमती प्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै संचार संगठनहरूको विरोध

हेटौंडा, असार ११।

Advertisement

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै सञ्चार क्षेत्रका विभिन्न संगठनहरूले कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति लगायत पत्रकार संगठनहरूले बुधबार मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, र आर्थिक मामिला तथा योजना मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री बहादुरसिं लामा, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, तथा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

Advertisement

ध्यानाकर्षण पत्रमा सञ्चारमैत्री बजेटको लागि पटक–पटक पहल गर्दा पनि श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रलाई पूर्ण रूपमा बेवास्ता गर्दै बजेट ल्याइएकामा गम्भीर आपत्ति जनाइएको छ । उनीहरूले यदि बजेट संशोधन नगरिएमा प्रदेश सरकारले गर्ने गतिविधिहरूलाई सञ्चारमाध्यमहरूमा प्रकाशित/प्रसारण नगर्ने कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

पत्रकार महासंघका अनुसार लोककल्याणकारी विज्ञापन वृद्धिको माग हुँदाहुँदै चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा ८५ प्रतिशत कटौती गरिएको छ । त्यस्तै, पत्रकार संगठनहरूमार्फत सञ्चालित पत्रकार क्षमता विकास कार्यक्रमहरू हटाइएको, श्रमजीवी पत्रकारहरूका हितमा चालिने कार्यक्रमहरू कटौती गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ ।

सञ्चार क्षेत्रसँग सम्बन्धित नीति कार्यक्रममा उल्लेख भए पनि बजेटमा कुनै स्पष्ट प्रावधान नराखिएको जनाउँदै उनीहरूले सामाजिक सुरक्षा कोषमा पत्रकारको सहभागिता, विज्ञापन नियमन तथा सञ्चार क्षेत्रको विकाससँग सम्बन्धित कानुनी व्यवस्था लागू नगरेकोप्रति आपत्ति जनाएका छन् ।

“सञ्चार हेर्ने मन्त्रालयले थोरै रकम तजबिजमा राखेपनि समग्र सञ्चार क्षेत्रलाई शून्य बजेट बनाउनु अत्यन्तै दुखद हो,” ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै, प्रदेश सरकारका सरोकारवाला पक्ष तथा विपक्षी दलसँग सञ्चारमैत्री बजेट निर्माण गर्न जोडदार मागसमेत गरिएको छ ।

Advertisement

ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरूमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल प्रेस युनियनका उपाध्यक्ष सुजन बिडारी, प्रेस चौतारी नेपालका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपालका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष दान बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समूहकी महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघका सचिव कुमार श्रेष्ठ छन् ।

सञ्चार क्षेत्रलाई समावेशी र सशक्त बनाउन विज्ञापन, कार्यक्रम तथा बजेटमार्फत सकारात्मक पहलकदमी आवश्यक रहेको उनीहरूको धारणा छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.