सङ्घिय सरकारको करिब आठ करोड रुपियामा लुम्ती–बाहुनतिल्पुङ् खण्डको कामको लागि गौरीगणेश–अभियान–श्वेता जेभिले २०७८ साल फागुनमा नै ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको भएपनि हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।
सिन्धुली, भदौ १५ । सिन्धुली जिल्लामा नबलपुर–चिसापानी रणनीतिक सडक निर्माणले गति लिन सकि रहेको छैन ।
नेपाल सरकारको ‘एक निर्बाचन क्षेत्र, एक रणनीतिक सडक’ योजना अन्तर्गत ६८ किलोमिटर लम्बाईको नबलपुर–चिसापानी (नबलपुर–बाहुनतिल्पु–चकमके–डकाहा–चिसापानी) सडक पाँच बर्षअघि निर्माण सुरु गरिएको थियो । तर निर्माणमा भएको ढिलासुस्ती र पर्याप्त बजेट अभावमा उक्त रणनीतिक सडक निर्माणको प्रगती सुस्त देखिएको छ । उक्त सडक सङ्घिय निर्बाचन क्षेत्र नं. १ को रणनीतिक सडक भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार निर्माणमा भएको ढिलासुस्ती र बजेट अभावमा उक्त सडकको कार्य प्रगती सुस्त देखिएको हो । २०७८ सालदेखि नै उक्त सडकमा विभिन्न खण्डमा ठेक्का लगाई काम अघि बढाईएको छ । बीचमा पर्ने १० किलो मिटर लम्बाईको लुम्ती–बाहुनतिल्पुङ् खण्डको काम अत्यन्तै ढिलाई भएको र जेठ अन्तिमदेखि नै निर्माणको काम रोकिएको अवस्था छ ।
सङ्घिय सरकारको करिब आठ करोड रुपियामा लुम्ती–बाहुनतिल्पुङ् खण्डको कामको लागि गौरीगणेश–अभियान–श्वेता जेभिले २०७८ साल फागुनमा नै ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको भएपनि हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।
कार्यालयका ईन्जिनियर (उक्त साईड हेर्ने) दिपेस मुनकर्मीले उक्त खण्डको काम सुरुमा श्वेताले गरेको र श्वेताले नसकेर बीचमा नै छाडेपछि जेभिमा रहेका बाँकी अरु दुई वटा निर्माण कम्पनिले अहिले काम अघि बढाएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरुको काम पनि स्ट्रक्चर निर्माण गरी ग्राभेलसम्म गर्नेको छ, पिच गर्ने छैन । बर्षा सकिन लाग्यो अब काम सुरु गर्छौ भनेका छन् ।’
श्वेताले नसकेपछि बाँकी दुई वटा कम्पनीले काम थालेको र उनीहरुको कार्य प्रगती गत बर्ष राम्रो देखिएको उहाँले बताउनुभयो । उक्त जेभिको काम गर्ने सम्झौता अबधि २०८२ असारसम्म रहेकोमा छ महिना म्याद थप गरी पुस २७ सम्म रहेको ईन्जिनियर मुनकर्मीको भनाई छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाँउपालिका–२ नबलपुरबाट निर्माण सुरु भएको उक्त सडकले धनुषा जिल्लाको चिसापानीलाई जोड्द छ । उक्त सडक निर्माणका लागि सङ्घिय सरकार र बागमती प्रदेश सरकारले बजेट बिनियोजन गरेपनि पर्याप्त नभएको र काममा पनि ढिलासुस्ती देखिएको सो क्षेत्रका बासिन्दा तथा बागमती प्रदेश सरकारका पुर्वस्वास्थ्य मन्त्री प्रदिप कटुवाल गुनासो गर्नु हुन्छ ।
उहाँले भन्नुभयो, ‘२०७८ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला अधिराज्य व्यापी ‘एक निर्बाचन क्षेत्र, एक रणनीतिक सडक’ नीति अन्तर्गत देशभर एकै दिन शिलान्यास भएर ४० करोड बजेट बिनियोजन भई नबलपुर–चिसापानी सडक निर्माण सुरु भएको थियो । पछि गठबन्धन परिबर्तन भई अर्को सरकार बन्ने बित्तिकै यो सडक पनि ओझेलमा पर्दै गयो ।’
उहाँका अनुसार उक्त सडक निर्माणका क्रममा सङ्घ र प्रदेशको गरी हालसम्म एक अर्ब रुपियाको हाराहारीमा खर्च भई सकेको छ । तर निर्माण कार्यले तीब्रता लिन सकेको छैन । सडकको कुल लम्बाई ६८ किलो मिटर मध्ये १५ किलो मिटर मात्रै कालोपत्रे सहित सम्पन्न भएको छ ।
प्रादेशिक मार्गमा परेर पनि बाहुनतिल्पुङ–चकमके खण्डका लागि बजेट बिनियोजन नभएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बागमती प्रदेश सरकारको २८ करोड ७८ लाख रुपिया लागतमा नबलपुरदेखि लुम्तीसम्म साढे आठ किलोमिटरको खण्ड भर्खरै कालोपत्रे सहित निर्माण सम्पन्न भएको छ । त्यस्तै बाहुनतिल्पुङ्मै १६ सय मिटरको खण्ड दुई करोड १८ लाख रुपिया लागतमा एक बर्षमा निर्माण सम्पन्न गर्ने गरी गत असारमा सम्झौता गरी धमाधम काम भई रहेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।