काठमाडौँ , भदाै २९।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नसक्ने सम्भावना रहेको छ । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएकी कार्कीले आफ्नो मन्त्रिपरिषदमा केहि मन्त्री थप्ने तयारी गरेकी हुन् ।जेनजी आन्दोलनको जगमा उनीहरुकै प्रस्तावमा प्रधानमन्त्री बनेकी कार्कीले मन्त्रीको छनौट पनि उनीहरुकै सिफारिसमा गर्ने भएकी छन् । यसका लागि जेनजी समुहले आन्तरिक मतदानबाटै मन्त्री छान्ने बताएका छन् ।
नयाँ मन्त्री पनि राजनीतिक दलभन्दा बाहिरबाटै हुने छन् । हाल काठमाडौँ महानगरका पुर्व कानुनी सल्लहाकार वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र कुलमान घिसिङको नाम मन्त्री बन्ने सूचीमा अगाडी रहेको छ । जेनजी समुहहरुले भने आफुहरुबाट कोहि मन्त्री नबन्ने र विज्ञहरुलाई सिफारिस गर्ने बताएका छन् ।
यस सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते आम निर्वाचन गराउने भएकाले यो सरकारमा धेरै मन्त्री नबन्ने बताइएको छ । यस सरकारले आम जनताका दैनिक सेवालाई सहज बनाउने देखि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्ने जस्ता जिम्मेवारी प्राथमिकतामा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समुहको माग अनुसारनै प्रधानमन्त्री नियुक्त गरेर संसद विघटन गरिदिएपनि राजनीतिक दलहरुले भने राष्ट्रपतिले संसद विघटन गरेर संबैधानिक काम गरेको भन्दै असहमति प्रकट गरेका छन् । उनीहरुले संसदबाट कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले पहल नगरेको आरोप लगाएका छन् ।
अर्कोतर्फ राष्ट्रपति पौडेलले भने अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निकालेकोले सबैलाई फागुन २१ मा हुने चुनाव सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले दलहरुले संसद विघटनको विरोध गरेपछि शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’
– एभरेष्ट न्यूज एजेन्सी,