सिन्धुलीको दुधौली–गागनमा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु र एक गम्भीर घाइते। बस चालक फरार, प्रहरीद्वारा खोजी जारी।
मंसिर १४, दुधौली । आईतबार बिहान सिन्धुलीको मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२ गागनमा बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुगातर्फ आउँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल गागन मोड नजिक ठोक्किँदा दुर्घटना भएको हो ।
घटनापछि बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो । प्रहरीका अनुसार चालकको खोजी तीव्र पारिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमरकाे दुधौली नगर अस्पताल, सिर्थौलीमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।



