भोटेकोशी बाढी र त्यसपछिको विपद्ले ठूलो मानवीय क्षति, खोजी तथा उद्धार कार्य जारी
काठमाडौं । भोटेकोशी बाढी तथा त्यसपछि आएको विपद्का कारण सम्पर्कविहीन हुनेको संख्या २ हजार ४२६ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्मको विवरणमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सहित विभिन्न क्षेत्रका २ हजार ४२६ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा रसुवाका ५२६, मकवानपुरका ६५ र नुवाकोटका ११५ जना रहेका छन्। त्यस्तै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यसैगरी ५१७ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन् ।
खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ ।
यसैबीच, विपद्का कारण अहिलेसम्म ६२६ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना रहेका छन् ।
खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।



