सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित ओडारमा प्लास्टिकमा बेरेको भरुवा बन्दुक र बारुद फेला परेको छ। इलाका प्रहरी कार्यालय डकाहाको टोलीद्वारा बरामद गरिएका ती वस्तुहरूप्रति थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सिन्धुली, साउन १० । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१, हात्पते डाँडास्थित मधुगंगा मन्दिर जाने बाटो नजिकै एक ओडारमा वेवारीशे अवस्थामा लुकाएर राखिएको भरुवा बन्दुक र बारुद जस्तो देखिने वस्तु फेला परेको छ ।
प्राप्त जानकारी अनुसार, साउन १० गते अन्दाजी साँझ ५ बजे इलाका प्रहरी कार्यालय डकाहालाई प्राप्त विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । खोजतलासको क्रममा बाटोबाट करिब १५० मिटर पूर्वतर्फ रहेको ओडारमा प्लास्टिकमा बेरेको अवस्थामा भरुवा बन्दुक १ थान र झण्डै ५०० ग्राम बारुद जस्तो देखिने वस्तु फेला परेको हो ।

पक्राउ वा घटनास्थल नजिक मानिस नदेखिएको अवस्थामा ती वस्तुहरू बरामद गरिएका हुन् । अहिले उक्त भरुवा बन्दुक र शंकास्पद बारुद पदार्थ इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बन्दुक कसले, किन र कुन उद्देश्यका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखेमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।