सिन्धुली, |
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो १० महिनामा मात्रै ६४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।कार्यालयले यो आर्थिक वर्षमा ७५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। हालसम्मको संकलन हेर्दा लक्ष नजिक पुगेको देखिन्छ। पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ७९ लाख ९४ हजार १० रुपैयाँ राजस्व संकलन गरेको थियो।
नयाँ उद्योग तथा व्यवसायको वृद्धि
सिन्धुली उद्योग वाणिज्य कार्यालयका सूचना अधिकारी पवित्रा गुरागाईंका अनुसार, चालु वर्षमा १५६ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ६८१ वटा उद्योग नविकरण भएका छन्। त्यस्तै, वाणिज्य तर्फ ११६ वटा नयाँ व्यवसाय दर्ता भएका छन् र ६५६ व्यवसाय नविकरण भएका छन्।
जिल्लामा रहेका उद्योग व्यवसायको अवस्था
गुरागाईंका अनुसार हाल सिन्धुली जिल्लामा ५,६०१ वटा उद्योग तथा व्यवसाय क्रियाशील छन्। तीमध्ये:
- ३,०६४ वटा कृषि जन्य उद्योगहरू
- २,२०० वटा सेवा मुलक उद्योगहरू
- ३३० वटा उत्पादनमूलक उद्योगहरू
- ५ वटा सूचना प्रविधि सम्बन्धी उद्योगहरू
- २ वटा पर्यटन व्यवसायहरू रहेका छन्।
बजार अनुगमन र सचेतना कार्यक्रम
कार्यालयले चालु आर्थिक वर्षमा १९ पटक बजार अनुगमन गरेको छ। अनुगमनको क्रममा १७९ जना व्यापारीलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको र बजार अनियमितताविरुद्ध कारबाहीको क्रममा २ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरिएको सूचना अधिकारी गुरागाईंले जानकारी दिइन्।