Click Chautari

इलेक्ट्रिक स्कुटरबाट स्वरोजगारको यात्रा: अध्यक्ष मास्केले

“यो योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ।”

Advertisement

ललितपुर, भैसेपाटी — नेपालमा पहिलोपटक युवालाई लक्षित गर्दै सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत ललितपुरको भैसेपाटीमा विशेष कार्यक्रमबीच इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको छ । ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको यो अभियानले हरित यातायात र स्वदेशी रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको आयोजकहरूले बताएका छन् ।

कार्यक्रमको औपचारिक उद्घाटन अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपाल अध्यक्ष राजेश मास्के र Yango नेपाल प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो ।

Advertisement
“यो केवल स्कुटर होइन, आत्मनिर्भर नेपालको प्रतीक हो” – राजेश मास्के

इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “यो केवल स्कुटर वितरण होइन, आत्मनिर्भरता र नयाँ आशाको सुरुवात हो । EV स्कुटरको माध्यमबाट हामी नेपाली युवालाई स्वरोजगारतर्फ डोर्याउने सपना बोकेका छौं ।” उहाँका अनुसार यो योजना युवाहरू विदेशिनु नपरोस्, आफ्नै देशमा पसिना बगाएर कमाइ गरौं भन्ने भावनामा आधारित छ ।

युवालाई लक्षित १००० स्वरोजगारकाे सपना

यस योजनाअन्तर्गत पहिलो चरणमा १००० वटा इलेक्ट्रिक स्कुटर न्यूनतम दैनिक भाडामा उपलब्ध गराइनेछ । यी स्कुटरबाट राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्दा मासिक ७२ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने बताइएको छ ।

‘तपाईको बजार’का संचालक सुशील सङ्रौलाले योजना दीर्घकालीन सोचमा आधारित रहेको भन्दै भने, “यो केवल रोजगारी होइन, नेपाली युवाको भविष्यमा गरिएको लगानी हो ।” उहाँले स्कुटर वितरणलाई ‘फ्री अफर’बाट सुरु गरिएको जानकारी दिनुभयो, जसअनुसार पहिलो दिन भाडा तिर्नुपर्ने छैन ।

सहभागिताका तीन मोडल

यो योजनामा सहभागी हुन चाहने व्यक्तिहरूका लागि तीन विकल्प खुला गरिएको छः
१) कर्मचारीको रूपमा,
२) राइडरको रूपमा दैनिक भाडामा स्कुटर लिएर,
३) लगानीकर्ताका रूपमा आफ्नै EV स्कुटर राखेर नियमित भाडा आम्दानी गर्ने।

Advertisement
अन्तर्राष्ट्रिय सहकार्य, नेपाली लगानी

यस अभियानमा प्रविधि र प्लेटफर्मको सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी Yango सँग गरिएको छ । इ–ड्राइभ नेपालका सीईओ सबिन भट्टराईका अनुसार, “यो योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ ।”

हरित यातायाततर्फको कदम

विद्युतबाट सञ्चालन हुने स्कुटर प्रयोग गरी विदेशी इन्धनमा हुने खर्च घटाउने, स्वदेशी स्रोतको प्रयोग बढाउने र वातावरणमैत्री यातायात प्रणाली विकास गर्ने लक्ष्य योजनाको मुख्य उद्देश्य हो । ‘परिमिता ग्रुप’को सहकार्यमा आयात गरिएका आधुनिक EV स्कुटरहरूले नेपालमा हरित यातायातको नयाँ आधार निर्माण गर्ने आयोजकहरूको विश्वास छ ।

योजना देशभर विस्तार हुँदै

उक्त कार्यक्रम काठमाडौं उपत्यकामा सीमित नरहने र क्रमशः देशका विभिन्न शहरहरूमा विस्तार गर्दै लैजाने योजना पनि सार्वजनिक गरिएको छ । यसले गाउँ–शहरका युवालाई समेत स्वरोजगारको अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

यसरी, अध्यक्ष मास्के नेतृत्वको इ-ड्राइभ नेपालले इलेक्ट्रिक स्कुटरमार्फत नेपाली युवालाई आत्मनिर्भरताको बाटो देखाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । यो योजना केवल यातायात सुधारको पहल मात्र नभई समग्र आर्थिक र सामाजिक रूपान्तरणको सुरुवात पनि हुनसक्छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.