सिन्धुली जिल्लामा स्थानीय तहले जग्गाको वर्गीकरण नगरेपछि करिब अढाई महिनादेखि जग्गाको कित्ताकाट र अंशबन्डा कार्य पूर्ण रूपमा रोकिएको छ। यस कारण नापी कार्यालय सेवाग्राहीको अभावमा सुनसान बनेको छ।
सिन्धुलीमाढी, असोज ८ । सिन्धुली जिल्लामा स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण करिब अढाई महिनादेखि कित्ताकाट र अंशबन्डा पूर्ण रूपमा रोकिएको छ । यसले नापी कार्यालय सेवाग्राहीको चहलपहल विहीन बनेको छ भने कर्मचारी दिनभर फुर्सदिला हुन थालेका छन् ।
नापी कार्यालयका कर्मचारीहरू बिहान १० बजे हाजिर गर्ने तर दिनभर सेवाग्राही नआएर बेलुकी ५ बजे फर्किने गरेको उनीहरूकै भनाइ छ । कार्यालयमा प्रमुख, सर्भेक्षक, अमिनसहित २१ जना दरबन्दी भए पनि कामको अभावमा उनीहरू खाली हात बस्न बाध्य छन् ।
नेपाल सरकारले करिब तीन वर्षअघि नै जिल्लाका नौवटा स्थानीय तहलाई १० प्रकारमा जग्गाको नक्सासहित वर्गीकरण पठाउन परिपत्र गरेको थियो । तर हालसम्म कुनै पनि स्थानीय तहले सो वर्गीकरण नपठाउँदा कार्यालय संकटमा परेको छ । स्थानीय तहहरूले केवल आवास र कृषि दुई प्रकारमा मात्र वर्गीकरण पठाए पनि त्यसले व्यवहारमा काम नगरेको नापी कार्यालयका निमित्त प्रमुख ध्रुब बखुन्छेले बताए ।
वर्षायामका कारण रेखाङ्कनको काम पनि रोकिएको छ । यसले गर्दा अहिले सग्लो जग्गाको मात्रै कारोबार भइरहेको छ, त्यो पनि मालपोत कार्यालयमार्फत हुने भएकाले नापी कार्यालय सुनसान देखिएको हो ।
जग्गा कारोबार ठप्प हुँदा राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ । मालपोत कार्यालयमार्फत संकलित राजस्वमध्ये ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई जाने प्रावधान रहेकाले स्थानीय तहहरूको आम्दानीमा ठूलो कमी आएको छ । नायब सुब्बा रोहितकुमार कार्कीका अनुसार, अहिले दैनिक आठ–दश वटा मात्रै सग्लो जग्गाको कारोबार हुने गरेको छ, जसले कार्यालय र सेवाग्राही दुवैलाई प्रभावित बनाएको छ ।