काठमाडौं, असार १६ ।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक तोकिएको मितिभित्र अगाडि नबढेपछि कडा आपत्ति जनाउँदै पुनः आन्दोलनको चेतावनी दिएको छ ।सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असार १५ गतेसम्म विधेयक प्रतिनिधि सभामा पेश नहुनु विगतका सहमति र विश्वासको उल्लङ्घन भएको भन्दै तत्काल विधेयक पारित गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासङ्घसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिबद्धता गरिएको थियो। तर, तोकिएको मितिसम्म विधेयक पेश नहुनुले शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका छन् ।”
शिक्षक महासंघ र सरकारबीच गत बैशाख १७ गते ९ बुँदे सहमति भएको थियो, जसमा असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । उक्त सहमति मन्त्रिपरिषदबाट अनुमोदन गरिएको थियो भने नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
२९ दिनसम्म काठमाडौंको सडकमा विद्यालय शिक्षा ऐन र शिक्षक सेवा सुविधाका लागि आन्दोलनमा उत्रिएका शिक्षकहरूले अझैसम्म आफूहरूले उठाएका माग सम्बोधन नहुँदा आन्दोलनमा फर्किन बाध्य हुने अवस्था सिर्जना भएको बताएका छन् ।
महासंघले जारी विज्ञप्तिमा प्रतिनिधि सभामा तत्काल विधेयक पेश गरी पारित गर्न आग्रह गर्दै कुनै पनि प्रकारको विलम्ब वा षड्यन्त्र भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । साथै, महासंघले अब हुनसक्ने आन्दोलनका परिणामप्रति सबैलाई सचेत रहन र समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्न सम्बन्धित पक्षहरूलाई अपिल गरेको छ ।