सिन्धुली, मरिण — मरिण गाउँपालिका–६ धमिलेस्थित नवज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले स्कुल झोला तथा खेलकुद सामग्री वितरण गरिएको छ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक तथा शारीरिक विकासमा टेवा पुर्याउने उद्देश्यले विद्यालयका लागि आवश्यक पर्ने झोला र खेलकुद सामग्री वितरण गरिएको हो।
कार्यक्रम वडा नं. ६ का अध्यक्ष हर्कविर माझीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष प्रख्यात मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँकार्यपालिका सदस्य आइती माया घोले, सिता विक, सामाजिक विकास शाखाका प्रमुख सुदिप केसीलगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सिकाइमा उत्साह जगाउनुका साथै खेलकुदप्रति अभिरुचि विकास गर्न टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, अभिभावक तथा शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रमले स्थानीयस्तरमा शिक्षा र शारीरिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने खाँचोलाई झल्काएको छ।