सिन्धुली, असार २०
— सुनकोशी गाउँपालिका–२ मा एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद छात्रवृत्ति वितरण गरिएको छ। साथै गरिब, जेहेन्दार तथा अभिभावक विहीन विद्यार्थीहरूलाई समेत छात्रवृत्तिबाट सम्मान गरिएको छ।
श्री पञ्चकन्या माविमा आयोजना गरिएको कार्यक्रममा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। उक्त विद्यालयकी प्रविना थापा ३.१९ जीपीए ल्याई उत्कृष्ट बनेकी थिइन्। उनलाई प्रोत्साहनस्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गरिएको हो। त्यसैगरी, ३.१४ जीपीए ल्याउने सुजन सुनुवारलाई २३ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ।
यसबाहेक, आर्थिक अवस्था कमजोर भएका १७ जना जेहेन्दार तथा आमा-बुवा विहीन विद्यार्थीलाई ३ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। साथै थप ३ जना विद्यार्थीलाई १ हजार रुपैयाँका दरले सहयोग गरिएको वडा अध्यक्ष जीवन बुर्जाले जानकारी दिनुभयो।

वडा अध्यक्ष बुर्जाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल अभिवृद्धि हुने र समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। उहाँका अनुसार, भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।
विद्यालयका प्रधानाध्यापकले पनि छात्रवृत्तिले विद्यार्थीको शैक्षिक प्रगति र आत्मबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले वडालाई धन्यवाद व्यक्त गर्दै आफूहरूमा नयाँ जोश र उमङ्ग थपिएको प्रतिक्रिया दिएका छन्।
— Click Chautari संवाददाता