कमलामाई नगरपालिका–६, सिन्धुलीस्थित आधुनिक इंग्लिस बोर्डिङ स्कुलले राष्ट्रिय सेवादलको २१ दिने तालिममा ‘बेस्ट प्लाटुन’सहित विभिन्न विधामा उत्कृष्ट सफलता हासिल गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आफ्नो अब्बल पहिचान पुनः पुष्टि गरेको छ ।
सिन्धुलीको शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता कायम गर्दै आएको आधुनिक इंग्लिस बोर्डिङ स्कुल ले पुनः एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ । राष्ट्रिय सेवादल अन्तर्गत पूर्वी तालिम शिक्षालयमा सञ्चालन भएको २१ दिने आवासीय तालिम आज समापन हुँदा १० जिल्लाका १८ विद्यालयबीचको प्रतिस्पर्धामा उक्त विद्यालयका क्याडेट छात्रछात्राहरूले ‘बेस्ट प्लाटुन’ उपाधि जित्दै सबैभन्दा उत्कृष्ट विद्यालयको रूपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
कमलामाइ नगरपालिका वडा नम्बर ६, पानिट्यांकीमा अवस्थित यस विद्यालयले विगतका वर्षहरूदेखि नै शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा समेत निरन्तर अब्बल प्रस्तुति दिँदै आएको छ । सोही निरन्तरताको प्रतिफलस्वरूप राष्ट्रिय सेवादलको कठोर र अनुशासनमुखी तालिममा पनि विद्यालयका क्याडेटहरूले नेतृत्व, सहकार्य र आत्मविश्वासको प्रभावशाली प्रदर्शन गर्न सफल भए ।

तालिम अवधिभर प्रशिक्षक श्री ज्ञानेन्द्र फुयाल र सरिता थारूको कुशल प्रशिक्षण तथा विद्यार्थीहरूको अथक परिश्रमले यो सफलता सम्भव भएको विद्यालयले जनाएको छ । साथै खेल प्रशिक्षक गोविन्द चौहान, नृत्य प्रशिक्षक सागर आछामे लगायतले दिएको निरन्तर सहयोगले क्याडेटहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रतियोगितात्मक विधातर्फ सार्वजनिक वक्तृत्वकलामा रन्जिता दर्लामी प्रथम भइन् भने स्यान्ड मोडल ब्रीफिङमा सौगात काफ्ले प्रथम र बिबिशा बम्जन तेस्रो स्थानमा रहे । नृत्य प्रतियोगिता, छात्र भलिबल तथा छात्रा भलिबलमा विद्यालयले दोस्रो स्थान हासिल गर्दै टोलीगत क्षमताको समेत सशक्त प्रमाण प्रस्तुत गर्यो ।
विद्यालयका प्रिन्सिपल भानु गुरूंगले यस सफलतालाई विद्यार्थी, प्रशिक्षक र विद्यालय परिवारको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै भविष्यमा पनि पढाइसँगै अनुशासन, नेतृत्व र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय सेवादलको तालिममा प्राप्त ‘बेस्ट प्लाटुन’ उपाधिले आधुनिक इंग्लिस बोर्डिङ स्कुललाई सिन्धुलीको शैक्षिक नक्सामा अझ सशक्त रूपमा उभ्याएको छ ।



