Click Chautari

डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ”, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकणर् दाहालले भने ।

उनले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गरे । “दैनिक पानी परिरहेको छ । पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ”, उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेङ्गुको सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ ।” रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

Advertisement

मन्त्रालयले हरेक शुक्रबार डेङगी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

मन्त्रालयका अनुसार सन् २००६ मा ३२, सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.