Click Chautari

गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु

सिन्धुली २७, जेठ ।

Advertisement

सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई आगामी वर्षभित्र कुपोषणमुक्त घोषणा गर्ने लक्ष्यसहित मंगलबार ‘पोषण बहस’ सुरु गरिएको छ ।

गोलन्जोर गाउँपालिकामा आयोजित सरोकारवालाहरूको सहभागितामा सम्पन्न कार्यक्रममा बालबालिकाको पोषण अधिकार सुनिश्चित गर्न विभिन्न प्रतिबद्धताहरू जनाइएको छ । कार्यक्रममा सहभागीहरुले गाउँपालिकालाई कुपोषण तथा भोकमरीमुक्त बनाई बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

कार्यक्रम सिड्स नेपाल र वर्ल्ड भिजन नेपालको साझेदारीमा आयोजना गरिएको हो। नेपाल सरकारले संविधानमा उल्लेख गरेको खाद्य सम्प्रभुताको अधिकार, दिगो विकास लक्ष्य २०३०, वृद्धिको लागि पोषण २०२१, संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन २०२१, तथा बहुक्षेत्रीय पोषण योजना (२०८०/८१–०८७/८८) को मार्गदर्शनलाई आधार बनाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा विद्यालय क्षेत्रभित्र जंक फूड निषेध गरी स्थानीय खाद्य वस्तुको प्रयोगलाई प्राथमिकता दिने, दिवा खाजा कार्यक्रमको गुणस्तर वृद्धि गर्ने, पोषणमैत्री स्वास्थ्य संस्था तथा स्थानीय तह घोषणा गर्ने, सञ्चार माध्यममार्फत पोषण शिक्षाको प्रचारप्रसार गर्ने, अभिभावक शिक्षा लागू गर्ने, रैथाने बाली तथा जलवायु अनुकूलन खाद्य उत्पादन प्रवर्द्धन गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरिएको छ ।

बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी महिलाका लागि पोषण कार्यक्रमलाई अनिवार्य बनाउँदै रक्तअल्पता, पुड्कोपन, शारीरिक दुर्बलता तथा दीर्घरोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पनि विविध योजना अघि सारिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, जिल्ला समन्वय समितिका प्रतिनिधि, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, वर्ल्ड भिजन नेपाल, सिड्स नेपाल, रिलिफ नेपाल लगायतका संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरू र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Advertisement

कार्यक्रमले गोलन्जोर गाउँपालिकालाई पोषणमैत्री नमुना पालिका बनाउने दिशामा महत्त्वपूर्ण पाइला अगाडि बढाएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.