सिन्धुली, असार २४
। स्वास्थ्य सुरक्षाको दिशामा सिन्धुली जिल्लाले ऐतिहासिक उपलब्धि हात पारेको छ। जिल्लालाई औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । यो उपलब्धिले जिल्लालाई स्वास्थ्य क्षेत्रमा नमूना बनाउने दिशातर्फ ठुलो फड्को मारेको संकेत गर्दछ।जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न विशेष समारोहमार्फत नौवटै स्थानीय तहमा पूर्ण खोप कवरेज पुरा भएपछि सिङ्गो जिल्ला नै पूर्ण खोप सुनिश्चितता प्राप्त जिल्ला घोषणा गरिएको हो।
घोषणाको प्रस्ताव जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले प्रस्तुत गर्नुभयो भने निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले समर्थन गर्नुभयो। कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्नु भएका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष कार्साङ लामाले औपचारिक घोषणा गर्नुभयो।
कार्यक्रममा नौवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले खोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे।
‘एक पालिका, एक नमूना स्वास्थ्य चौकी’ — मन्त्री थापाको संकल्प
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेश सरकारले स्वास्थ्य पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एक पालिका, एक नमूना स्वास्थ्य चौकी, टेलि-मेडिसिन हब, र आँखाको विशेषज्ञ सेवा जस्ता योजनाहरू अघि सारेको जानकारी दिनुभयो।
त्यसैगरी पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि प्रिमियम स्वास्थ्य बीमा, पाठेघरको मुखको क्यान्सर भएका महिलाहरूलाई उपचार खर्चमा ५० हजार थप गरी एक लाख रुपैयाँसम्म सहयोग प्रदान गर्ने निर्णयसमेत गरिएको मन्त्री थापाले जानकारी दिनुभयो।
१४,१६८ बालबालिकामा खोप, अब ‘दिगोपना’को बाटो
सिन्धुलीको फिक्कल गाउँपालिकालाई बैशाख २६ गते पहिलोपटक पूर्ण खोप तथा दिगोपना पालिका घोषणा गरिएको थियो। सम्पूर्ण जिल्लामा कुल १४,१६८ जना बालबालिकालाई खोप दिइएको र सर्वेक्षणमा छुटेका १५८ जनालाई पनि खोप लगाइसकेपछि आज जिल्लालाई यो ऐतिहासिक उपलब्धिमा पुर्याइएको हो।
सिन्धुलीले खोपको क्षेत्रमा देखाएको दिगो प्रतिबद्धता अब अरू जिल्लाहरूका लागि पनि उदाहरण बन्ने विश्वास गरिएको छ।