सिन्धुली जिल्लामा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसुती सेवा लिने गर्भवती महिलाको संख्या तीव्र रूपमा बढ्दै गएको छ। गाउँ–गाउँमा प्रसुती केन्द्र सञ्चालन र पालिकाको प्रोत्साहन योजनाले ‘होम डेलिभरी’ लगभग शून्य भएको स्थानीय प्रतिनिधिहरू बताउँछन्।
कात्तिक १८, सिन्धुली । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसुती सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् ।
ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरुमा प्रसुती सेवा बिस्तारसँगै सुरक्षित प्रसुती सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाँउमा रहेका स्वास्थ्य संस्थामा प्रसुति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच गराउने र सुत्केरी हुने गर्भवती महिलाको संङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउछन् ।
फिक्कल गाँउपालिका–५ का वडा अध्यक्ष बैकुण्ठलाल पहाडी उक्त वडामा अहिले ‘होम डेलिभरी’ शुन्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाँउमा रहेको स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनसँगै होम डेलिभरी (घरमा बच्चा जन्माउने) शुन्य भएको छ । गाँउमा भएका सबै गर्भवति महिला नियमति स्वास्थ्य जाँच गर्न र बच्चा जन्माउन स्वास्थ्य संस्थामा धाएको देखिन्छ ।’
पालिकाले नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई प्रत्येक पटकको एक हजार रुपियाका दरले यातायात खर्च प्रोत्साहन स्वरुप पालिकाले उपलब्ध गराउदै आएको उहाँले जानकारी दिनुभयो ।
सोही वडा स्थित स्वास्थ्य चौकी स्वल्पाठानामा कार्यरत सिनियर अहेव प्रलभ घिमिरे गाँउमा भएका स्वास्थ्य संस्थामा प्रसुती सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसँगै घरमा सुत्केरी हुने क्रम घटेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, ‘धेरै जसो गर्भवती महिला सुविधा सम्पन्न ठाँउ खोज्दै बच्चा जन्माउन बाहिर जान्छन् । बाहिर जान नसक्ने सुत्केरी हुन यहि आउछन् । यहाँ आएर बार्षिक १६ देखि २० जना गर्भवती महिला सुत्केरी हुदै आएका छन् ।’
दुई नगरपालिका सहित नौ वटा स्थानीय तह रहेको यस जिल्लामा ४१ वटा स्वास्थ्य चौकीमा प्रसुती केन्द्र (बर्थिङ् सेन्टर) सञ्चालना रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिकामा सात वटा, तिनपाटन गाँउपालिकामा सात वटा, फिक्कल गाँउपालिकामा छ वटा, सुनकोसी गाँउपालिकामा पाँच वटा, कमलामाई नगरपालिकामा चार वटा, गोलन्जोर गाँउपालिकामा तीन वटा, घ्याङ्लेख गाँउपालिकामा तीन वटा, हरिहरपुरगढी गाँउपालिकामा तीन वटा र मरिण गाँउपालिकामा तीन वटा स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सञ्चालन हुदै आएको छ ।
जिल्लामा गत आर्थिक बर्ष ०८१÷०८२ मा सुत्केरी भएका एक हजार ८३९ जना गर्भवती महिला मध्ये एक हजार ६१८ जनाले स्वास्थ्य संस्थामा आएर र बाँकीले घरमा नै बच्चा जन्माएको कार्यालय प्रमुख बिमल पटेलले जानकारी दिनुभयो । विभिन्न कारणले १५ जना बच्चा मृत जन्मिएको पनि उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसुती सेवा लिनेको सङ्ख्या बढाउन कार्यालयले जनचेतनामूलक प्रचार प्रसार, बर्थिङ् सेन्टरको गुणस्तरमा सुधार, अनुगमन निरिक्षण लगायतका गतिविधि गर्दै आएको छ ।’
जिल्लाकै सबैभन्दा ठूलो सिन्धुली अस्पतालले पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन दिन थालेपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानु पर्ने गर्भवती महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको अस्पताल विकास समितिका अध्यक्ष शतिष ढकाल बताउनुहुन्छ ।
प्रसुती सेवा लिन आउने महिलालाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत सबै सुविधा निःशुल्क उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो छ ।
त्यस्तै तीनपाटन गाँउपालिकाले स्वास्थ्य संस्थामा आई गर्भवती अवस्थामा आठ पटक स्वास्थ्य जाँच गरी सुत्केरी हुने महिलालाई पाँच हजार रुपैया प्रोत्साहन भत्ता दिदै आएको छ । घरमा नै सुत्केरी हुदा आमा र शिशुको ज्यान जोखिममा पर्ने भएकाले स्वास्थ्य संस्थामा आई सुत्केरी गराउन प्रोत्साहन गर्न गाउँपालिकाले सरकारले दिने सुत्केरी भत्तामा थपेर उक्त रकम दिन सुरु गरेको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगर बताउनुहुन्छ ।



