Click Chautari

गोलन्जोर आधारभूत अस्पतालमा अब २४ घण्टा सेवा: तीन जिल्लाका सिमावर्ती बासिन्दा लाभान्वित

गोलन्जोर आधारभूत अस्पतालमा अब २४ घण्टा सेवा: तीन जिल्लाका सिमावर्ती बासिन्दा लाभान्वित
Advertisement

मङ्सिर ३, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा अवस्थित गोलन्जोर आधारभूत अस्पतालले अबदेखि चौबिसै घण्टा सेवा सुरु गरेको छ । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ नीतिअनुसार गत असोज ५ गतेदेखि १५ शय्याको क्षमता सहित सञ्चालनमा आएको अस्पतालले सेवाको दायरा विस्तार गर्दै मङ्सिर १ गते साेमबार देखि पाँच शय्याको आकस्मिक कक्षसहित पूर्णरूपमा २४–घण्टे सेवा सञ्चालनमा ल्याएको हो ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार अब अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे र प्रयोगशाला सेवा नियमित रूपमा उपलब्ध छन् । यस अस्पतालले गोलन्जोर मात्र होइन, छिमेकी फिक्कल, सुनकोशी गाउँपालिकाका साथै रामेछाप, ओखलढुङ्गा र खोटाङका सिमावर्ती बासिन्दालाई समेत सहज उपचार सेवा दिन लक्ष्य राखेको छ ।

Advertisement

अध्यक्ष बरालले भने, “अब आधारभूत स्वास्थ्य उपचारका लागि यस भेगका नागरिकले सदरमुकाम सिन्धुलीमाढी, धुलिखेल वा काठमाण्डौ धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास छ ।” मध्यपहाडी लोकमार्गको सहज पहुँचमा अवस्थित भएकाले अस्पताल आउन–जान यातायातमा कुनै समस्या नहुने स्थानीय पनि बताउँछन् ।

ग्वाल्टारस्थित स्वास्थ्य चौकीको स्तरउन्नति गर्दै मापदण्डअनुसारको भवन निर्माणपछि अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनका लागि ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । हाल एक जना एम्बिबिएस चिकित्सकले सेवा प्रदान गरिरहेका छन् भने आगामी दिनमा जनशक्ति थपिँदै जाने अध्यक्ष बरालले बताए । अस्पताल पूर्णरूपमा सञ्चालन भएपछि नौ जना विशेषज्ञ चिकित्सक रहने व्यवस्था मिलाइएको छ ।

ब्याक टू लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा सीएसडीएस सिन्धुलीको प्राविधिक सहकार्यमा ६ करोड ७६ लाख रुपैयाँ लागतमा नयाँ अस्पताल भवन निर्माण गरिएको हो । साथै, अस्पताल सेवा तथा स्वास्थ्य शिक्षा समन्वयका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र गोलन्जोर गाउँपालिकाबीच सहकार्य सम्झौता भएको छ ।

सिन्धुली जिल्लाका नौ स्थानीय तहमध्ये हालसम्म कमलामाई नगरपालिकामा १०० शय्याको अस्पताल सञ्चालनमा छ । दुधौली नगरपालिका, तीनपाटन र फिक्कल गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आइसकेका छन् । बाँकी हरिहरपुरगढी, मरिण र सुनकोसी गाउँपालिकामा आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ । तर घ्याङ्लेख गाउँपालिका–३ सोलाभञ्याङमा डीपीआर बनेको वर्ष दिन बितिसक्दा पनि अस्पताल निर्माण अघि बढ्न सकेको छैन ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.