बिपी राजमार्गमा यात्रुलाई वर्षा, पहिरो, बाढी र दुर्घटनाबारे पूर्वसूचना दिने उद्देश्यले जडान गरिएको आपतकालीन सूचना प्रणाली वर्षौदेखि बिग्रिएर प्रयोगविहीन बनेको छ। धुलीखेल, सिन्धुलीमाढी र बर्दिबासमा स्थापित प्रणाली मर्मत नहुँदा यात्रुहरू अझै जोखिममा यात्रा गर्न बाध्य छन्।
असोज २७, सिन्धुली । यात्रुहरुलाई वर्षा, बाढी, पहिरो, दुर्घट्ना, अवरोध जस्ता घट्नाको पूर्वसूचना दिने उद्देश्यले बिपी राजमार्गमा जडान गरिएका आपतकालिन सूचना प्रणाली बिग्रिएर बर्षौदेखि प्रयोगमा आउन सकि रहेको छैन ।
यात्रुहरुलाई यात्रा गर्नुअघि बिपी राजमार्गको अवस्था के कस्तो छ ? भनी पूर्वसूचना दिने उद्देश्यले धुलीखेल, सिन्धुलीमाढी र बर्दिबासमा जडान गरिएको ईन्टरनेट जडित उक्त सूचना प्रणाली बिग्रिएर बर्षौदेखि थन्किएर बसेको अवस्था छ । जाईकाले बिपी राजमार्ग निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने बेलामा २०७२ सालतिर नै राजमार्गको ती ठाँउमा उक्त प्रणाली जडान गरेको स्थानीयले बताएका छन् ।
उक्त राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित नापी कार्यालय अगाडी जडान गरिएको आपतकालिन सूचना प्रणाली बिग्रिएको बर्षौ भई सकेको स्थानीय बासिन्दा लालबहादुर थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘राजमार्ग बनेर नेपाल सरकारलाई हस्तान्तरण गरेको केही बर्ष पछिसम्म उक्त प्रणालीले काम गरेको देखिन्थ्यो । अहिले त धेरै भई सक्यो, बिग्रिएको देखिन्छ ।’
पछिल्लो समयमा बिपी राजमार्ग बाढीपहिरोले अबरुद्ध भई रहेको बेला उक्त प्रणालीको आवश्यकता महसुस देखिएको उहाँको भनाई छ । जापान सरकारको अनुदान सहयोगमा २०५२ सालदेखि झण्डै दुई दशक समय अवधिमा निर्माण भएको बीपी राजमार्गमा नेपालमै पहिलो पटक आपतकालिन सूचना प्रणाली जडान भएको बताईएको छ ।
उक्त राजमार्गमा वर्षा, पहिरो, दुर्घट्ना, अवरोध जस्ता आपतकालीन घटनाबारे सबारी धनी र यात्रुलाई अग्रिम जानकारी दिने उद्देश्यले इन्टरनेट जडित उक्त प्रणाली जडान गरिएको हो । उक्त प्रणाली मर्मत गरी सञ्चालनमा आएमा धुलिखेलदेखि बर्दिबास सम्मको १६० किलोमिटर लम्बाई बिपी राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोध जस्ता आपतकालीन घटनाबारे घरमै बसेर जानकारी लिन सकिने सरोकारवाला बताउछन् ।
सुर्यबिनायक धुलीखेल सडक आयोजना प्रमुख बिजय महतो एक महिनाअघि आफु सडक विभागको सूचाना प्रविधि शाखामा रहदा बीपी राजमार्गमा जडान भएका ती आपतकालिन सूचना प्रणाली सञ्चालनमा ल्याउन धेरै काम अघि बढेको सुनाउनुहुन्छ । ‘म यहाँ सरुवा भएर आएको एक महिना भयो,’ उहाँले भन्नुभयो, ‘म एक महिना अघिसम्म विभागको सूचना प्रविधि शाखामा थिए । मैलै उक्त प्रणालीलाई सञ्चालनमा ल्याउन टिप्पणी उठाउने देखिको काम गरेर धेरै प्रयास गरेको थिए ।’
उहाँका अनुसार उक्त सूचना प्रणाली जाईकाले बनाएको हो । त्यसको सर्बर सडक विभागमा आउनु पर्नेमा अझै प्राईभेट कन्सल्टेन्सी (नीजि परामर्शदाता) सँगै छ । आपतकालिन सूचना प्रणाली अहिले पृथ्वी राजमार्ग सहित चार वटा राजमार्गमा पनि जडान गरिएको छ । यो प्रविधिबाट इन्टरनेट जडित कम्प्युटर वा मोबाइलमार्फत सडकको सम्पूर्ण अवस्थाबारे घरमै बसेर जानकारी लिन सकिने सुविधा रहेको छ ।
आपतकालिन सूचना प्रणालीमा यात्रु तथा चालकले पनि जानकारी ‘अपडेट’ गराउन सक्ने सुविधा वेबसाइटमा छ । ‘अटोमेटिक रेनफल अब्जर्भेसन सिस्टम’ले काठमाडौं, भक्तपुर, सिन्धुली बजार, बदिर्बासकोे वर्षा मापन गरी स्वचालित रुपमा ‘अपटेड’ गराउँछ । आपतकालिन सूचना प्रणालीका लागि चौबीसै घण्टा जानकारी दिनुपर्ने भएकाले सूचना बोर्डहरुमा राखिएका सोलार ब्याकअप समेत बिग्रिएको छ ।
फोटो क्याप्सन
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको आपतकालिन सूचना प्रणालीको बोर्ड । तस्बिर ः बाबुराम देवकोटा, सिन्धुली