नेपालको सभ्यता, संस्कृति र सामाजिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतकद्वारा संसदमा राखिएको प्रस्ताव केवल शब्दको भूल मात्र होइन, यो दूषित मानसिकताको प्रतिफल हो । नेपालको गरिमा जोगाउने जिम्मेवारी बोकेको पार्टी र पार्टीको जिम्मेवार ब्यक्तिबाट यस्तो अपमानजनक अभिव्यक्ति आउनु दुःखद मात्र होइन, घोर आपत्तिजनक छ ।
नेपाललाई यौन पर्यटनको अखडा बनाउने सपना देख्नु भनेको यो पवित्र भूमिलाई अपवित्र बनाउने षड्यन्त्र गर्नु मुलुकको सस्कार र संकृति माथीको नियोजित प्रहार हो । सभ्य समाजको परिकल्पना गर्ने सचेत नेपाली जनताले यस्ता दूषित प्रस्तावलाई कुनै हालतमा स्वीकार गर्न सक्दैनन् ।
यस्ता अनर्गल अभिव्यक्तिहरू पार्टीका वरिष्ठ नेताहरूबाट आउनु केवल व्यक्तिगत भूल मात्र होइन, बरु नेपाली कांग्रेसकै मूल्यमान्यता र सिद्धान्तमाथि प्रश्न उठाउने विषय हो । नेपाली कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य र नैतिक प्रतिबद्धता एउटा ब्यक्तिको सन्कीपनबाट धमिलिनु हुँदैन । यदि पार्टीभित्र जिम्मेवार तहमा बसेका व्यक्तिहरूले नै यस्तो विचार राख्ने हो भने, नेपाली कांग्रेसको मूल आदर्श संकटमा पर्न सक्छ ।
यस्ता अपमानजनक प्रस्तावलाई सामान्य गल्तिको रूपमा लिने छुट कसैलाई पनि छैन । यो विषय कुनै एक दल, कुनै एक व्यक्तिको मात्रै मुद्दा होइन—यो सम्पूर्ण नेपाली समाजको अस्तित्व, आत्मसम्मान र पहिचानसँग जोडिएको प्रश्न हो । नेपाली कांग्रेसले यस विषयमा आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न ढिलाइ गर्नु हुँदैन । प्रमुख सचेतकको यस्तो गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिले संसदको गरिमा धूमिलमात्र बनाएको छैन, बरु सम्पूर्ण नेपाली जनतालाई लज्जित तुल्याएको छ ।
संसदको गरिमा खल्बल्याउने अभिव्यक्ति किन अस्वीकार्य छ ?
नेपालको संविधानले नै यौन व्यवसायलाई अवैधानिक मानेको छ । हाम्रो कानूनी संरचना, सामाजिक संरचना र नैतिक मूल्यहरूले यौन व्यवसायलाई स्वीकार्दैन । यस्तो संवेदनशील विषयलाई संसदमा उठाएर यसलाई व्यवसायिक बनाउनुपर्ने प्रस्ताव राख्नु केवल व्यक्तिगत विचार मात्र होइन, बरु एउटा योजनाबद्ध सोच हो, जसले नेपालको सामाजिक संरचनामा गम्भीर असर पार्न सक्छ ।
यदि संसदजस्तो जिम्मेवार संस्थाबाट नै यस्तो सोच व्यक्त हुन थाल्यो भने, हाम्रो समाजको नैतिक धरातल कुन दिशामा जाने हो भन्ने विषय गम्भीर चिन्ताको विषय बन्न सक्छ । संसदमा उठाइने प्रत्येक प्रस्तावले समाजमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । संसदबाट यौन व्यवसायलाई वैध बनाउने खालका प्रस्ताव आउनु भनेको सामाजिक मूल्यमान्यतालाई बिसर्जन गर्नु हो ।
नेपाली समाज पारिवारिक मूल्य, नैतिकता र संस्कृति केन्द्रित समाज हो । हाम्रा चेलीबेटीलाई इज्जत र सम्मानका साथ हेरिन्छ । यहाँको समाजले यौन व्यवसायलाई स्वीकार्दैन । यस्तो अवस्थामा, संसदमा बसेर नैतिकता भत्काउने र नेपालको संस्कार, संस्कृतिमाथी प्रहार गर्ने खालका प्रस्ताव राख्नु कति गैरजिम्मेवार कार्य हो भन्ने बुझ्न गाह्रो छैन ।
के नेपाललाई यौन पर्यटनको अखडा बनाउने सपना देख्न पाइन्छ ?
नेपाल केवल पर्यटन गन्तव्य मात्र होइन, यो गम्भीर सभ्यता, संस्कार, र संस्कृतिको धरोहर हो । नेपाललाई यौन पर्यटनको अखडा बनाउने सपना देख्नु भनेको यो पवित्र भूमिलाई अपवित्र बनाउने षड्यन्त्र गर्नु हो । केही देशहरूले यौन पर्यटनलाई कानूनी मान्यता दिएर अर्थतन्त्रमा योगदान गरेको हुन सक्छ तर त्यो नेपालको बाटो कदापि हुन सक्दैन ।
हाम्रो पर्यटनको विशेषता हिमाल, प्रकृति, संस्कृति, कला र मौलिकता हो । नेपालको आर्थिक समृद्धिका लागि यौन व्यवसायलाई विकल्प मान्ने सोच केवल कुपोसित मानसिकता मात्र होइन, राष्ट्रघाती प्रस्ताव पनि हो । पर्यटनको नाममा नेपाली समाजको नैतिक मूल्य, हाम्रो सामाजिक संरचना र चेलीबेटीको अस्मितालाई व्यापारिकरण गर्न खोज्नु घोर आपत्तिजनक र निन्दनिय कुरा हो ।
संसदमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले यस्ता अपमानजनक प्रस्ताव राख्नु नेपाली समाजका लागि लज्जाजनक छ । प्रमुख सचेतकजस्तो उच्च पदमा बसेर सार्वजनिक रूपमा यस्ता विचार राख्ने व्यक्तिले आफ्नो पदमा रहने नैतिक आधार पूर्णरुपमा हराइसकेको छ ।
माफीले घाउ निको पार्दैन, नैतिक जिम्मेवारी बहन गर्नुपर्छ ।
सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको हरेक अभिव्यक्ति गम्भीर रूपमा हेरिनुपर्छ । संसदजस्तो उच्च संस्थामा बसेर राखिएको प्रस्तावलाई व्यक्तिगत धारणा मात्र भनेर पन्छन मिल्दैन । यस्ता विचार संसदभित्र प्रवेश गर्नु नै गम्भीर समस्या हो ।
यदि आज संसदले नै यस्ता अभिव्यक्तिहरूलाई सामान्य रूपमा लिने हो भने, भोलि संसदमा के–के प्रस्ताव आउन सक्छ भन्ने कल्पना गर्न पनि डर लाग्छ । यो केवल व्यक्तिको व्यक्तिगत गल्ती होइन, यो हाम्रो समाजमाथिको अपमान हो । संसदको गरिमालाई जोगाउने हो भने, प्रमुख सचेतकले तुरुन्त पदबाट राजीनामा दिनु आवश्यक छ ।
माफी मागेर यो घाउ निको हुने विषय होइन । जिम्मेवार पदमा बसेर यस्तो असंवेदनशील अभिव्यक्ति दिनु गल्ती मात्र होइन, यो ठूलो नैतिक पतनको संकेत हो । प्रमुख सचेतकले नैतिक जिम्मेवारी बहन गर्दै तुरुन्त पदबाट अलग्गिनुपर्छ ।
नेपाली कांग्रेसको भूमिका र जिम्मेवारी
नेपाली कांग्रेस नेपालकै पुरानो प्रजातान्त्रिक दल हो । यसको इतिहास बलिदान, संघर्ष र सामाजिक परिवर्तनका घटनासँग जोडिएको छ । तर यदि पार्टीभित्र जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट यस्ता अपमानजनक अभिव्यक्ति आउँछ भने, पार्टीले गम्भीर मूल्य चुकाउनु पर्नेछ ।
यदि नेपाली कांग्रेसले प्रमुख सचेतकको अभिव्यक्तिलाई सामान्य रूपमा लिन्छ भने, यसले समाजमा गलत सन्देश जान सक्छ । नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी बिर्सन मिल्दैन । यो विषयलाई गम्भीर रूपमा लिएर तुरुन्त कदम चाल्नु आवश्यक छ ।
यदि पार्टीले यस्ता विषयहरूलाई बेवास्ता ग¥यो भने, जनता स्वयंले यसको उचित मूल्यांकन गर्नेछन्। । नेपाली समाज आफ्नो मूल्यमान्यता, संस्कार र सभ्यताको रक्षा गर्न पछि हट्दैन । यो कुनै सामान्य राजनीतिक विषय होइन, यो समाजको नैतिक धरातलको प्रश्न हो ।
संसदको मर्यादा बचाउन ढिला गर्न मिल्दैन
संसद कुनै सामान्य बहस गर्ने ठाउँ होइन । यो देशको नीति, कानुन र भविष्य निर्धारण गर्ने संस्था हो । यस्ता संस्थाबाट आउने अभिव्यक्तिहरूले समाजमा गहिरो प्रभाव पार्छ । यदि संसद आफैंले यस्ता असंवेदनशील अभिव्यक्तिहरूलाई गम्भीर रूपमा नलिनेहो भने, भविष्यमा के–के निस्किएला भन्ने कल्पना गर्न गाह्रो छ ।
संसदको गरिमा जोगाउने जिम्मेवारी सांसदहरूको हो । तर जब संसदभित्रैबाट यस्तो गरिमा हानि हुने अभिव्यक्ति आउँछ, तब यसको गहिरो समीक्षा आवश्यक हुन्छ ।
अब समय आइसकेको छ—प्रमुख सचेतकले राजीनामा दिएर आफ्नो गैर–जिम्मेवार अभिव्यक्तिको क्षतिपूर्ति गर्नु नै उत्तम विकल्प हो । संसदको सम्मान जोगाउने जिम्मेवारी हरेक संसद सदस्यको हो ।
अबको बाटो—नेपाली जनताको जिम्मेवारी
नेपाली जनताले आफ्नो संस्कार, सभ्यता र नैतिक मूल्यमान्यता जोगाउने जिम्मेवारी आफ्नै काँधमा लिईसकेका छन । यदि संसदबाट नैतिकता भत्काउने प्रस्ताव आउँछ भने, जनता चुप लागेर बस्ने छैनन ।
अब यो केवल संसदभित्रको मुद्दा मात्र होइन, यो सम्पूर्ण नेपाली जनताको अस्तित्व र पहिचानको मुद्दा हो । नेपाली जनताले आफ्नो अस्मितामाथि आँच आउने कुनै पनि गतिविधिलाई अस्वीकार गर्नुपर्छ । संसदको गरिमा रक्षा गर्ने दायित्व केवल संसदको मात्र होइन, नेपाली जनताको पनि हो ।
यदि प्रमुख सचेतकले अझै पनि राजीनामा दिएनन भने, अब सडकदेखि सदनसम्म आवाज उठ्नुपर्छ ।
नेपाली समाजको अस्मिता कुनै राजनीतिक बहसको विषय होइन, यो हाम्रो पहिचान हो । हाम्रो पहिचान, हाम्रो सभ्यता, र हाम्रो संस्कारमाथि प्रहार किमार्थ स्वीकार्य हुने छैन ।
तसर्थ अब विलम्ब नगरौं—संसदको सम्मान बचाउन, नेपाली समाजको अस्मिता जोगाउन, प्रमुख सचेतक पदबाट तुरुन्त राजीनामा देऊ ।
– लेखक नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सहसचिव हुनुहुन्छ ।