Skip to main content

Click Chautari

बबिता – साहस, संघर्ष र समाजसेवाको उज्यालो नाम

Advertisement

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका डाँडाकाँडाले घेरेको एउटा सामान्य गाउँमा, २०३८ सालको चैत महिनाको अन्तिम साँझ, एक नानीले संसार देखिन्— हाम्रो हिन्दु परम्परा अनुसार नामाकरण गरिदिए गाँउका पण्डितले नाम बबिता भनेर । पाँच दिदीभाइको लाडली कान्छी थिईन् उनी । आमा–बुबाको काखको जून, सिंगो घरको हाँसो । तर नियतिको लेखाजोखा सायद उनी जन्मिनुअघि नै फरक थियो — त्यो रात एउटा फरक कथा सुरु भएको थियो, जुन पीडाबाट शुरू भएर प्रेरणाको महाकाव्य बन्न गयो ।

तीन महिनाकी मात्र थिईन् बबिता । त्यो समय कोठामा ग्यास कहाँ ? बिजुली त झन् सपना जस्तै थियो । बिहान सबेरै उठेर काममा निस्कनुपर्ने आमा, नानी सुतिरहेको छेउमा एउटा टुक्की बालेर गएकी थिइन् त्यो बालीकालाइ सहाराको लागि । घर सुनसान थियो । आमाबुबा बस्तुभाउमा लागेका थिए, बाँकी परिवार कसैले नानीलाई हेर्न सकेनन् ।

Advertisement

टुक्की बलेको त्यो चिसो उज्यालो, एकाएक विपत्तिको कारण बन्यो । नानी एक्लै, न्यानो ओछ्यानमा सपना देखिरहेकी थिईन् होला या त टुक्कीको उज्यालो समाउने दाउमा ती मुलाएम हात गोडालाइ हौसियर फडकारदै थिइन । खेल्दाखेल्दै त्यही टुक्की ढल्यो—र आगोको ज्वालाले नानीको सानो खुट्टोलाई समात्यो । चिच्याउँदै ब्युझिएकी बालिका, उनका साना खुट्टाले जीवनको पहिलो पीडा महसुस गर्यो—एक यस्तो पीडा, जुन केवल शरीरको घाउ थिएन, यो त उनको जीवनको बाँकी बाटो नै बदल्ने दुर्घटना थियो ।

जब आमा नानिको चिच्याहट सुनेर हतासिदै आइन्, खुट्टा जलेर कालो भइसकेको थियो । च्यातिएको मासु, लोलाएको नानीको आवाज, आमाको हतास र रोएको स्वर—यो पल आजसम्म उनको सम्झनामा भयानक दर्दनाक थियो होला भनेर उनी स्मरण गर्दछिन । अस्पताल त टाढाको कुरा थियो, झारफूक, घरेलु उपचार र आँसु—त्यसैको सहारामा सानो बबिताले जीवनको पहिलो युद्ध जितिन् । तर त्यो विजयको मूल्य थियो—उनको खुट्टाको तल्लो भाग, सधैंका लागि गुमाउनु ।

उनी भन्छिन्, “तीन महिनाको थिएँ, केही थाहा थिएन । तर जति जति हुर्किँदै गएँ, मलाई थाहा हुँदै गयो—मेरो शरीर फरक छ, म अरू बच्चाजस्तो हिँड्न सक्दिनँ, दौडिन सक्दिनँ । अनि झन् पीडा तब भयो, जब साथीहरू मलाई उनीहरुसँग खेल्न दिदैन थिए ।, एउटै कुर्सीमा बस्न दिदैन थिए । म अपांग छु भन्ने थाहा शरीरले भन्दा पनि हाम्रो समाजले दिने रहेछ ।”

त्यसपछिको जीवन—सामान्य बाल्यकाल जस्तो कहाँ रह्यो र ? विद्यालय जानुपर्ने बाटो अरुका लागि आधा घण्टाको सामान्य उकालो ओरालो भए पनि उनीका लागि डेढ घण्टा लाग्थ्यो—कसैले साथ दिन्थेन, न सान्त्वना दिन्थे, दिन्थे त केवल पिडा। शिक्षकले ‘लँगडी’ भन्दै गाली गर्दा, र साथीहरूले हेप्दा, उनको मन पोल्थ्यो—तर आँसु मात्र टल्कन्थे, आवाज कहिल्यै निस्किन्थेन ।

Advertisement

तर शायद नियतिको क्रूर व्यवहारले नै एउटा शक्तिशाली आत्मा जन्माउँदै थियो—एक नारी, जसले अपांगता मात्र होइन, समाजको सोचसँग पनि लड्न सक्ने आँट राख्नेछिन् ।

एक्लोपनको विद्यालय यात्रा

घरदेखि विद्यालयको दुरी अरूका लागि मात्र आधा घण्टा । तर बबिता थापाका लागि त्यो यात्रा एक संघर्ष थियो—हरेक पाइला भारी, हरेक पथ काँडेतार । अपांग खुट्टाले उनीलाई डेढ घण्टा लगाउँथ्यो विद्यालय पुग्न ।

विद्यालयमा उनीजस्ती कोही थिएनन् । भिन्नता बोकेकी थिइन् उनले—र त्यो भिन्नता समाजले सहन सकेन । साथीहरू उनीसँग न त खेल्न चाहन्थे, न त संगै बस्न । टाढैबाट हेर्थे, कहिलेकाहीँ औंला ठड्याउँथे । शिक्षकका गाली र बेवास्ता त झन् दैनिकी जस्तै थियो उनका लागी ।

“सबैले टाढा पारेको त्यो समय‘ कहिलेकाहीँ लाग्थ्यो, म जन्मिनु नै कुनै अभिशाप थियो कि <” भन्दै बबिता आँखा रसाउँदै सुनाउँछिन् ।

तर त्यो एक्लोपनको यात्रा—उनी टाउको निहुराएर होइन, यो समाजसँग आँखा उठाएर तय गर्दै गइन् । त्यही पीडाले उनी भित्र एउटा अदम्य साहस जन्माइन्—जो आज अरू धेरैका लागि प्रेरणा बनेको छ ।

पीडाबाट परिवर्तनतर्फको यात्रा

समाजको तिरस्कारले बबितालाई भत्कायो—तर त्यो भत्किएको ईंटाबाट उनले आत्मबलको दरबार निर्माण गरिन् ।

“बुबा–आमाका आँसु पोल्थे,” उनी सम्झिन्छिन्, “त्यही पोलाइले मनमा अठोट बनायो—कुनै दिन म केहि गरेर देखाउनेछु ।”

जीवनको प्रारम्भिक मोडमा साना साना सीपमा लागिन्—सिलाइ, बुनाइ, खेलौना बनाउने । त्यो सिप, त्यो सङ्घर्ष, सबैमा एक साझा ध्येय थियो—स्वावलम्बी बन्ने ।

सदरमुकाम झर्दा उनले देखिन्—आफूजस्तै अपांग, अझ पीडित जीवन बाँचिरहेका थुप्रै अनुहारहरू ।

“त्यो दिन मलाई लाग्यो,” उनी भन्छिन्, “अब मेरो संघर्ष केवल मेरो लागि मात्र होइन । उनीहरूको लागि पनि केही गर्नुपर्छ ।”

त्यही क्षणबाट सुरु भयो—बबिता थापाको पीडाबाट परिवर्तनतर्फको यात्रा ।

अपांगताभन्दा माथि उठेर सेवा र नेतृत्वमा

आज बबिता अपांगता भएका व्यक्तिहरूको मात्र होइन, सम्पूर्ण समाजका लागि एक प्रेरणाको स्रोत बनेकी छन् । पीडाबाट माथी उठेर सेवा र नेतृत्वमा उभिएको उनको यात्राले अपांगता कुनै बाधा होइन, आ बबिताले नेतृत्व गरिरहेको  सिन्धुली अपांग संघ मार्फत अपांगता भएका व्यक्तिहरूलाई सिपमूलक तालिम, स्वरोजगारका अवसर, कृत्रिम खुट्टा र ह्वीलचेयर वितरणजस्ता कार्यक्रममार्फत आत्मनिर्भर बनाउने प्रयास जारी छ । “हालसम्म ५० जनालाई कृत्रिम खुट्टा जडान गरिदिएका छौं, २ हजारभन्दा बढीलाई ह्वीलचेयर वितरण गर्न सकेका छौं, थुप्रै लौरो, सेते छडी लगाएतका थुप्रै सामाग्री वितरण गरेका छैं ” बबिता गर्वका साथ भन्छिन् ।त्मबलको अर्को रूप हो भन्ने पुष्टि गर्छ ।

तर यो गौरवको यात्रा त्यति सजिलो भने पक्कै पनि थिएन । जब उनी १५ वर्षकी थिइन्, तब समाजसेवी शिक्षक अम्मरदिप देवकोटाले स्काउटमार्फत उनलाई पाकिस्तान लैजाने व्यवस्था मिलाए । त्यहीँ, उनले पहिलोपटक कृत्रिम खुट्टा लगाइन । “त्यही दिन मेरो जीवनले नयाँ मोड लियो,” उनी सम्झिन्छिन्, “कृत्रिम खुट्टाले मलाई फेरि उभिन सिकायो, अरुको जस्तो सहज नभएपनि म गौरवका साथ अरुसंग फेरि हिँड्न सक्ने भएपछि, लाग्यो—अब म अरूका लागि पनि बाटो बन्न सक्नुपर्छ ।”

आज बबिता आफूजस्तै पीडामा परेका सयौं मानिसका लागि उज्यालो बनिरहेकी छन् । उनी हिँड्दा, उनी बोल्दा, र उनी काम गर्दा—अपांगता होइन, आत्मबल बोल्छ ।

संघर्षलाई सेवा बनाउने व्यक्तित्व

बबिता, जो हाल स्नातक तहमा अध्ययनरत छिन्, “सिन्धुली अपांग संघ” की अध्यक्षको रूपमा सेवा गर्दै आएकी उनी एक यस्तो संस्थाको जन्म दिएकी छिन, जुन आफैं अपांगता भएका व्यक्तिहरूको नेतृत्वमा चलिरहेको छ । उनी केवल कुर्सीमा बसेर निर्देशन दिने नेतृ होइनन् । उनी आफैं मपेड चढेर दुर्गम बस्ती पुग्छिन्, पीडितहरूलाई भेट्छिन्, उनीहरूको कथा सुनिछिन् र उनीहरूका लागि स्वर बनेर आवाज उठाउँछिन् ।

“शरीरिक अपांगता भन्दा गहिरो अपांगता त समाजको सोचमा हुन्छ,” उनी भन्छिन्, “हामीलाई सहानुभूति होइन, अवसर चाहिएको हो ।” बबिता लगातार सरकारी निकायहरू, विद्यालयहरू, र सार्वजनिक संरचनाहरू अपांगमैत्री बनाउन खबरदारी गरिरहेकी छन् ।

उनको दृष्टिकोण स्पष्ट छ—अपांगता कमजोरी होइन, त्यो त संघर्षबाट निखारिएको शक्ति हो । उनी जब कसैको हात समात्छिन्, त्यो केवल साथ होइन, आशाको स्पर्श हुन्छ ।

बबिता– एउटा असल उदाहरण, एउटा उज्यालो बाटो

बबिता थापा—यो नाम आज केवल एक व्यक्तिको परिचय होइन, संघर्ष र सम्भावनाबीचको सेतु हो । न त उनले आफ्नै शारीरिक अपांगतालाई कमजोरी मानिन्, न त समाजको अपहेलनासामु झुकिन् । बरु, उनले ती पीडाहरुलाई आत्मबलको इँटा बनाएर, परिवर्तनको घर ठड्याइन् ।

“आज म खुसी छु,” उनी भन्छिन्, “किनकि मैले आफैंजस्ता धेरैलाई फेरि उठ्न सिकाएकी छु ।”

उनका आँखा बगेका आँसुले भिजेका छन्, तर ती आँसु पीडाका होइनन्—गौरवका हुन् । ती संघर्षका कथा हुन, जसले उनलाई आज हजारौं अपांग व्यक्तिहरूको लागि आशाको उज्यालो बनाइदिएको छ ।

बबिता थापाको जीवनले सिकाउँछ—जब आत्मबल बलियो हुन्छ, तब शरीरको कमजोरी बाधा बन्दैन । समाजले दिएको हेला उनले समेटिन्, सेवा र नेतृत्वको ज्योति प्रज्वलन गरिन् ।

यो यात्रा उनको समाप्ति होइन—सुरुवात हो ।

उनको यात्रा आजको पुस्ताका लागि प्रेरणा हो, र भोलिका पुस्ताका लागि एउटा उदाहरण ।

कहिल्यै हार नमान्ने, जीवनका चोटलाई सेवा र परिवर्तनमा बदल्न सक्ने साहसी आत्मा—बबिता साँच्चिकै, एक उज्यालो नाम हुन् । समाजका लागि आशा, आत्मबल र सम्भावनाको दीपशिखा ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.