Click Chautari

माओवादी आक्रमणको त्यो दिन : रडले निर्घात कुटेपछि दुवै खुट्टा पनि भाँचे

पहिलाे पटक प्रकाशित :२०७३ जेठ ८ गते क्लिक साप्ताहिकबाट

Advertisement

‘तिमीहरू को हौ नि ?’

सुरुमै उनले ठाडो प्रश्न गरे । माओवादी सशस्त्र युद्धमा पूर्वप्रधानपञ्च प्रेमबहादुर पोखरेलमाथि भौतिक आक्रमण भयो । माओवादीले ‘जनकारबाही’ भन्दै २३ चैत ०५४ मा उनको दुवै खुट्टा भाँचिदियो । त्यही स्मृति कोट्याउन हामी पोखरेलगाउँस्थित उनकै निवास पुगेका थियौँ । हामीले तीन पुस्ते खुलाएपछि केहीबेर पारिवारिक गफ पनि भए । त्यसपछि बल्ल उनले हामीसँग खुलेर कुरा गरे । र, घटना यसरी सुनाए :

Advertisement

त्यस दिन डेढ महिनापछि घर आएको थिएँ ।

त्यतिवेला ‘जनकारबाही’ भन्दै माओवादीले सर्वसाधारणमाथि ज्यादती गरिरहेको थियो । धम्क्याएरै चन्दा उठाउँथे । चन्दा नदिँदा अनाहकमा सर्वसाधारण मारिएका थिए । उनीहरुले मसँग भने कहिल्यै चन्दा मागेनन् र धम्क्याएनन् पनि । तर, कारबाही सूचीमा मेरो नाम अगाडि नै राखेका रहेछन् । जिल्लातिर हल्लीखल्ली भएपछि म पनि आफ्नो च्यानलबाट बुझ्थेँ । ‘तेरो नाम छ है, घरमा नबस्नू’ माओवादीकै साथीहरु सुनाउँथे ।
०२७ सालमा प्रधानपञ्च भएँ । ०४५ सालसम्म जिल्ला पञ्चायतको पदेन सदस्य तथा किसान संगठनको जिल्ला सभापति थिए । सकेको सहयोग सबैलाई गर्थेँ, कसैलाई नराम्रो गरेँजस्तो लाग्दैन । यत्ति मात्र हो, बोलेको कुरा पुग्नुपथ्र्यो र पु¥याउँथेँ पनि । त्यसैले ममाथि आक्रमण होला भन्ने विश्वास लागेकै थिएन । तैपनि परिवारले चिन्तित भएपछि छोरी मञ्जुको घर (रातमाटा)मा बस्न थालेँ । दिउँसो बजारतिरै बस्थेँ, सुत्न छोरीकहाँ जान्थेँ । घरतिर सम्पर्कमा थिइनँ ।

एकदिन बजारमा चिया खाँदै थिएँ, एउटा केटो म भएनिरै आयो । ‘घरमा आमा बिरामी हुनुहुन्छ रे, मलाई खबर पु¥याइदे भन्नुभाथ्यो,’ उसले खबर सुनायो । सायद बाटो हिँड्ने केटोलाई खबर पठाइहोलिन् भन्ने सोचेँ । मनमा छटपटी चल्यो । खबर सोध्न अहिलेजस्तो फोन सुविधा पनि थिएन त्यतिवेला । घर छाडेको पनि डेढ महिना भइसकेको थियो । घरको न्यास्रो लाग्यो, ‘भेटेर फर्किन्छु,’ भन्ने सोचेँ । कसैलाई थाहै नदिई साँझ ६ः३० बजेतिर घर पुगेँ ।

घरमा श्रीमती, कान्छो छोरा भुपेन्द्र र छोरी सुष्मा किचनमा कुरा गरेर बसिरहेका थिए । ‘एक्कासि आउनुभयो त,’ अचम्म पर्दै श्रीमतीले सोधिन् । खबर झुटो थियो, उनी बिरामी थिइनन् । सोचेँ– सायद त्यो केटो झुक्किएछ । ‘घरको न्यास्रो लागेर आएको,’ मैले धेरै कुरा गरिन, ‘खाना पस्क, खाएर हिँडिहाल्छु ।’

Advertisement

छोराछोरी त बजारमै पनि भेट हुन्थ्यो तर श्रीमतीसँग डेढ महिनापछि मात्रै भेटेको थिएँ । उनले राति फर्किन दिइनन् । भोलिपल्ट माओवादीको जनयुद्ध दिवस थियो । ‘आजको रात त केही नहोला नि’ सोचेर घरमै बसेँ ।

साँझको ७ बजेको हुँदो हो, पलङमा ढल्किएर रेडियो खोलेँ । रेडियोमा ‘घटना र विचार’ कार्यक्रम बजिरहेको थियो, एक्कासि दुईजना प्रहरी कोठामा छिरे । एकजना गोडामुनि र अर्को टाङमुनि बस्यो । दुवैले एकै स्वरमा भने, ‘तपाईं उठ्नुस् ।’

त्यतिवेला ममाथि सुरक्षा खतरा थियो । म घर आएको थाहा पाएर छोराहरुले प्रहरी पठाए भन्ने सोचेँ । र, उनीहरुकै पाखुरा समातेर उठेँ । तर, उनीहरुको पसिनाले शरीर पूरै भिजेको थियो । त्यसमाथि प्रहरी मेरो घरमा पस्दा पनि पस्दैनथ्यो । उनीहरु माओवादी हुन् भनेर थाहा पाउन गाह्रो भएन ।

उनीहरु हतियारसहित आएका थिए । नाइँनास्ती गर्न उचित ठानिनँ र उनीहरुसँगै कोठाबाट निस्किएँ । उनीहरुको अर्को साथी थपियो । त्यसले भ¥याङ उक्लिँदै आदेश दियो, ‘झार यसलाई ।’ मैले उसलाई पनि माथि नै बोलाएँ । चिनेजस्तो लागेछ क्यारे, त्यो केटो हत्तपत्त हिँड्यो । र, अर्को साथी पठायो । दुईजनाले मलाई समातिराखेकै थिए, फेरि अर्को थपियो । ऊ सरासर उक्लियो र भ¥याङबाटै मेरो खुट्टा तान्यो । केही सोच्नै भ्याइनँ, एउटा खुट्टा उचालेर त्यसलाई बेस्मारी हिर्काएँ । त्यो मान्छे त एकैचोटि तल पुगेर पछारिएछ ।

आफैँ तल झरेँ र घरअगाडिकै भान्टाबारीमा लम्पसार परिदिएँ । ‘ल के गर्छौ गर,’ यतिमात्रै बोल्न भ्याएको थिएँ, उनीहरुले हिर्काउन थालिहाले । ठूला रड ल्याएका रहेछन्, लगालग दाहिने खुट्टामा ६ पटक हिर्काए । फेरि ६ पटक देब्रे खुट्टामा बजाए । ‘मारिस् तेरिमाखाने’ पीडाले यतिमात्रै बोलेँ ।

भुपेन्द्रलाई पनि कुञ्जैकुञ्जाले हिर्काएछन् । ‘बोलिस् भने पड्काइदिन्छु’ भनेर श्रीमतीलाई बन्दुक तेस्र्याएछन् । उनीहरु रुँदै÷चिच्याउँदै अत्तालिए । आँखैअगाडि बुबारश्रीमान्लाई पिटेको विवश भएर हेर्न बाध्य थिए ।

दुवै खुट्टामा इच्छा लागून्जेल रड हिर्काएपछि पालैपालो दुवै खुट्टा बटारे । ‘ल ठीक भएछ,’ भन्दै उनीहरु हिँडे । ३०र३५ जना आएका रहेछन् । चिनजानका माओवादी घरमुनि नदेखिने गरी बसेका रहेछन्, नचिनेका मात्रै पठाएका रहेछन् । तल पुगेपछि के सोचे कुन्नि, ताकेरै बन्दुक हाने तर पड्केन ।

उनीहरु गएपछि छोरी र श्रीमतीले रुँदैरकराउँदै कपडाले मेरो दुवै खुट्टा बाँधिदिए । घरमा रुवाबासी चलेपछि एकैछिनमा गाउँलेहरु पनि जम्मा भए । र, मलाई तुरुन्तै सिन्धुली अस्पताल र्पुयाए । त्यो दिन सिन्धुलीमै ‘ब्लिडिङ’ रोक्ने सामान्य उपचार भयो । भोलिपल्ट बिहान ९ बजेतिर मात्रै हेलिकोप्टरमा काठमाडौँ लगे । वीर अस्पतालमा उपचार गरेँ । दाहिने खुट्टाको मात्रै चारपटक अप्रेसन भयो । उपचार खर्च सबै राज्यले बेर्होयो । तीन महिना वीर अस्पतालमा उपचार गरेपछि घर फर्कें । त्यस दिनदेखि सधैँ घरमै बसेँ ।

दुईपटक संविधानसभाको निर्वाचन भयो । प्रायः दलका नेता भोट माग्दै आए तर माओवादी नेताले आँट गरेनन् । भूकम्पको क्षति अवलोकन गर्दै हरिबोल गजुरेल गाउँ छिरेका थिए । उनीचाहिँ मेरोमा पनि आए । घर हेरे तर केही नबोली फर्के ।
ममाथि त्यति ठूलो आक्रमण गरे । तर, खै किन गरे, अहिलेसम्म थाहा पाउन सकेको छैन ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.