बाल्यकालदेखि लुडो खेल्ने साथी, आज हजारौं बालबालिकाको भविष्य बनाउने प्रेरणादायी शिक्षक बनेका छन् बलराम खड्का । बाँस, गट्टा र धागोको माध्यमबाट गणित सिकाउने अनौठो शैली र ‘एम म्याथ’ जस्ता राष्ट्रिय अभियानमा संलग्न बलरामको कथा पढ्नुहोस् – जहाँ शिक्षा रमाइलो पनि छ र सम्भावनाको ढोका पनि ।
बलराम खड्कासँगको मेरो सम्बन्ध कुनै औपचारिक चिनाजानीबाट सुरु भएको होइन । हाम्रो बाल्यकालमै गासिएको मित्रताबाट सुरू भएको हो । हामीले पहिलोपटक चकटीमा बसेर चाउचाउ, दालमोठ, चिउरा अनि चिनी मिसाएर खाँदै दुई रुपैयाँको बाजीमा लुडो खेल्दा चिनजान भएको थियो । हामी सँगै हुर्कियौं, सँगै खेल्यौं र केही समय सँगै पढ्यौं पनि ।
म औसत विद्यार्थी थिएँ– गणित देख्नासाथ टाउको दुःखिहाल्थ्यो । तर, बलराम बाल्यकालदेखि नै गणितमा रुचि राख्थ्यो, गृहकार्य सधैं समयमा बुझाउने अनुशासित विद्यार्थी थियो ।
बलराम सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ हिर्दिगमा जन्मिएको थियो, त्यो पनि समयभन्दा दुई महिना अघि नै अर्थात् सात महिनामै । गाउँका बूढापाकाबाट सुनेको थिएँ– सात महिनामा जन्मिने बच्चा भाग्यमानी हुन्छ । आज बलरामलाई हेर्दा लाग्छ, त्यो भनाइ उसकै लागि बनेको थियो । तीन दाजुभाइमा जेठो ऊ एउटा मध्यमवर्गीय परिवारको आशा र भरोसाका पात्र थियो ।
हाम्रो बाल्यकाल रमाइलो नै थियो । फुर्सदमा हामी चेस कि लुडो खेल्थ्यौं । प्रायः दुई रुपैयाँको बाजी चल्थ्यो । सागर बख्रेल, बोधन थापा, बलराम र म लुँडोको घेरामा धेरैपटक बसेका थियौं । हामीमध्ये कसले कतिपल्ट बाजी जित्यो, कोसँग कति पैसा लिन बाँकी रह्यो, हिसाब आजसम्म क्लियर छैन । सायद, त्यो लुडोको हिसाब नै हाम्रो मित्रताको आधार बनेको हो— जहिले भेटिन्छ, लुडोको हारजितको कुरा अनिवार्यझैं चल्छ ।
समयसँगै हामी आ–आफ्नो बाटो लाग्यौं । कोही विदेशिए, कोही व्यापारमा लागे, कोही खेतीपाती र कोही समाजसेवामा । तर, बलराम र मेरो यदाकदा केही क्षणका लागि भए पनि वेलावेला भेट भइरहन्थ्यो । ती भेटहरू कहिले हास्यपूर्ण, कहिले स्मरणीय त कहिले गम्भीर बहसले भरिएका हुन्थे । हाम्रो पाटो फरक भए पनि सोच एउटै थियो– समाजका लागि केही योगदान गरेर जाने ।
एक दिन मेरो अर्को प्रिय साथी रमेश जोशीको फोटो स्टुडियोमा गफिँदै गर्दा अचानक बलरामको फोन आयो । रमेश र मैले एकै स्वरमा भनेका थियौँ– नाम लिया तो सैतान हाजिर ! त्यो क्षणले हाम्रो मित्रताको गहिराई झल्कायो ।
फोनमा बलरामले भने, “विवश सर, कता हो ?”
मैले भनेँ, ‘जोशी फोटो स्टुडियोमा ।’
उनले फेरि भने, ‘ल तुरुन्तै गौमती स्कुल आउनुपर्ने भयो ।’ प्रस्तुती आदेशात्मक थियो ।
‘गौमती स्कुल ???’
गौमती स्कुलको नाम सुन्नासाथ रमेश र म फिल्मको फ्ल्यासब्याकमा पुगेझैँ भयौँ । त्यो स्कुल जहाँ रमेशले कक्षा १ देखि १२ सम्म र मैले कक्षा ४ देखि ८, अनि कक्षा ११–१२ सम्मको यात्रा पूरा गरेका थियौँ । बाल्यकालको अनुशासन, शिक्षा, रमाइलो, डर र प्रेरणा त्यसै विद्यालयसँग जोडिएको थियो। तर मेरो बालसखा बलराम आज, त्यही स्कुलमा शिक्षक बनिसकेका रहेछन् ।
स्कुल पुगेपछि थाहा भयो— त्यहाँ हाम्रा पुराना स्मृतिबाहेक केही रहेनछ । पुराना संरचना त गइसकेछन्, बाँकी थिए गगनचुम्बी तीन भवन । स्कुल पुग्नुअघि हाम्रा यादहरु भने ताजै थिए– त्यहाँको धूलो, घण्टीको आवाज अनि पाठशालाको आँगन । स्कुल पुगेपछि देखिएका ती भवनले हाम्रा स्मृतिहरू ढाकिएको अनुभव भयो। तर पनि बलरामसँगको भेटले फेरि तिनै पुराना सम्झनाहरूलाई जीवित बनायो।
त्यहीँबाट शुरू भयो बलरामको शिक्षकीय यात्राको कथा— सुन्दै गर्दा मलाई लाग्यो, यो त समाजलाई पनि सुनाउनुपर्ने कथा रहेछ ।
शिक्षकीय यात्रा
बलरामले आफ्नो शिक्षण यात्रा २०५७ मा पानीट्यांकीस्थित सिद्धबाबा माध्यमिक विद्यालयबाट सुरु गरे । दुई वर्षपछि उनी नयाँखर्क माविमा सरुवा भए । ०६२ सम्म उनले सिन्धुलीका जनता बोर्डिङ, नवदीप बोर्डिङ, न्यू इङ्गलिस बोर्डिङमा पनि पढाए । काठमाडौंको हिमश्रृंखला एकेडेमीमा पनि तीन वर्ष पढाएपछि ०६५ मा उनी गाउँ फर्किए, आफ्नो जगतमा ।
०६५–०७३ सम्मको आठ वर्ष उनले लाम्पान बतासे माविमा बिताए । त्यहीँबाट सुरु भयो उनको शिक्षणमा नयाँ अध्याय– गणितप्रति बालबालिकाको डर हटाउने अभियान । किताबी ज्ञानको सीमितताबाट निकालेर प्रयोगात्मक बनाउने बिजारोपण गरे । बाँसको टुप्पोबाट त्रिभुज, चतुर्भुज बनाउन सिकाए, गट्टाबाट गुणन तालिका सिकाए, चप्पल काटेर कोण बनाएर देखाए, गहुँको छ्वालीमा धागो प्रयोग गरी आकृतिहरु बनाउने अभ्यासहरु सुरु गरे । यसरी बाँस, चप्पल, गट्टा, धागोजस्ता सजिला सामग्री प्रयोग गरी गणितलाई जीवनसँग जोड्ने अभ्यास सुरु भयो । परिणामस्वरूप एक वर्षमै विद्यालयको एसएलसी नतिजाले सबैलाई चकित तुल्यायो ।
२०७३ मा उनी सिन्धुली सदरमुकामस्थित गौमती उच्च माविमा सरुवा भए । पुराना अनुभव, साधन, अभ्यास सबै लिएर उनी कक्षामा छिरे । यहाँ उनले व्यक्तिगत प्रयासलाई संस्थागत रुप दिने सोच बनाए । विद्यालयमै शैक्षिक सामग्री उत्पादन केन्द्र स्थापना गर्ने योजना अघि बढ्यो । पैसाको अभाव थियो, धेरै हारगुहारपछि राष्ट्रिय युवा परिषद्को ६ लाखको सहयोगले सपना साकार बनाउने आकार लिन थाल्यो ।
मेहनत बढी, फाइदा कम । स्थानीय फर्निचर व्यवसायीहरू उत्पादन गर्न हिच्किचाए । त्यसपछि बलरामले विद्यालयकै हाताभित्र सामग्री उत्पादन सुरु गरे । आजसम्म उनीहरुले १७० भन्दा बढी सामग्री उत्पादन गरिसकेका छन्, जसलाई पजल, मन्टेश्वरी, जुनियर र सिनियर किटमा विभाजन गरिएको छ । ५० भन्दा बढी विद्यालयमा ती सामग्री प्रयोगमा छन् । यो केवल सफलताको कथा होइन– शिक्षा सुधारको जीवित नमूना हो ।
बलरामको संघर्ष र सफलताः
केही वर्षको काठमाण्डौंको वसाई पछि जब उनी गाउँ फर्किए उनले शिक्षणको स्वरुपलाइनै फेरबदल गर्ने दृढ संकल्प गरे । जतिबेला उनले मा.वि. लाम्पान बतोसेमा कक्षा सम्हाल्न थाले, त्यो नयाँ भूगोल, नयाँ परिवेश त्यो माथि गाउँ सुरुवात पक्कै सजिलो थिएन ।
कक्षामा पस्ने वित्तिकै विद्यार्थीहरुको अनुसार हेरिन् – कतै जिज्ञासा थिएन, बरु डर अनि अलिकति हिचकिचाहट ।
उनीहरु सोच्थे, “अब फेरी उही किताब, उही पढाइ, उही टाउको दुख्ने सुत्रको घनचक्कर ।”
जब बलरामले हातमा पुस्तक होइन स्थानीय सामाग्री, गट्टा, बाँसको कप्टेरा र पुराना चप्पल बोकेर कक्षाको सुरुवात गरे । पहिलो दिन त उनी हाँसोको पात्र बने – विद्यार्थीहरु एक–आपसमा मुखामुख गर्न थाले ।
जब जब दिनहरु वित्दै जाना लाथ्यो उनीहरुको जिज्ञासा वढ्न थाल्यो । कोही बाँसको त्रिभुज नाम्न त कोही गहुँको छ्वालीमा कोण बनाउँदै रमाउन थाले । विस्तारै गणित अब डरको विषय रहेन, कक्षा खेल र प्रयोगको थलो बन्यो ।
तर बलरामको परीक्षा अझै बाँकी थियो –एस.एल.सी ।
त्यो सालको परिणाप सार्वजनिक भएको दिन बलराम स्कुलको एउटा छेउमा एकोहोरो टोलाएर बसेका थिए । मनमा केही उत्सुक्ता अनि केही डरसहित ।
अचानक एकजना छात्र दौडिदै आए, उ बोल्न सकेन – सिधै बलरामको अंगालेमा बेरिएर भक्कानिए । आँशु छल्काउदै उ बोल्यो,
“सर, म पास भएँ ….त्यो पनि म्याथमा ९९ अंक! यो सबै तपाईको कारण सम्भव भयो ….”
बलराम केही बोल्न सकेनन्, गहभित्र केही तिरमिराएको थियो । त्यो दिन केवल त्यो छात्र मात्र होइन, उनकै विषयबाट २ जनाले ९९ अंक ल्याएका थिए जुन सामुदायि विद्यालयको एउटा दुर्लभ परिणाम थियो । अनि पहिलो पटक मावि लाम्पान बतासेले गणित विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो ।
उक्त विद्यालयमा वालवालिकाहरुलाइ कागज र काटुन काटेर विभिन्न शैक्षिक सामाग्रीहरु तयार गरी पहिलो पटक त्यहाँ गणितिय शैक्षिक प्रदर्शनी समेत गरियो । त्यो वर्ष ९८ जनाले एस.एस.सी. परिक्षा दिएकोमा गणित विषयमा शत प्रतिशत २० जना भन्दा वढी विद्यार्थीहरुले ९५ भन्दा माथीको अंक प्राप्त गर्न सफल भए । यो सबै प्रयोगात्मक अभ्यासको परिणम थियो, जहाँ पहिला म्याथ भनेपछि हाउगुजी मान्ने वालवालिका गणीत विषयलाइ सबै भन्दा सजिलो मान्न थाले ।
गाउँभर चर्चा चल्यो –“यो बलराम सरको कमाल हो !”
त्यस क्षण बलरामले महसुस गरे, त्यो बाँस, गट्टा र धागोले केवल त्रिभुज बनाएन –कयौं वालवालिकाको भविष्य बनायो ।
त्यसपछि उनको यात्रा रोकिने होइन, फैलिँदै गयो –तर आज पनि त्यो छात्रको अंगालो र आँशु उनलाई स्मृतिमा कहिल्यै छुटेन ।
शिक्षक मात्र होइन, शैक्षिक अभियन्ता
बलराम आज केवल शिक्षक होइनन्, एक शैक्षिक अभियन्ता हुन् । उनले ‘एक्टिभिटी बेस्ड लर्निङ’, ‘म्याथ ल्याब’ जस्ता अवधारणालाई जीवन्त बनाएका छन् । उनी ‘एम म्याथ’ अभियानसँग पनि आबद्ध छन्, जसले ‘गणितलाई जीवनसँग जोड्ने’ राष्ट्रिय सोच अघि बढाइरहेको छ ।
शिक्षा क्षेत्रलाई नयाँ मोड दिने, बालबालिकाको डर हटाएर रमाइलो तरिकाले सिकाउने र सरकारी विद्यालयको साख पुनःस्थापित गर्ने बलराम खड्काको यात्रा अझै रोकिएको छैन । उनी अझै पनि नयाँ प्रयोगशाला निर्माण गर्ने, सामग्रीलाई राष्ट्रिय बजारसम्म पु¥याउने र विद्यालयलाई आत्मनिर्भर बनाउने अभियानमा क्रियाशील छन् । हामीले यस्तो कथा पढेर मात्र होइन, बाँडेर पनि समाजलाई सकरात्मक सन्देश दिनुपर्छ ।
बलराम खड्काको यात्रा कुनै सामान्य शिक्षकको जीवनकथा होइन—त्यो एउटा प्रेरणा हो, जसले गाउँको चौकदेखि राष्ट्रिय शिक्षा नीतिसम्म प्रभाव पार्न सक्छ । बाल्यकालमा लुडो खेल्ने साथी, आज हजारौं विद्यार्थीको भविष्य निर्माण गर्ने व्यक्तित्व बनेका छन् ।
उनी अझैपनि नयाँ प्रयोगशाला बनाउने, सामग्रीलाई राष्ट्रिय बजारमा पुर्याउने, र विद्यालयलाई आत्मनिर्भर बनाउने अभियानमा क्रियाशील छन् । उनलाई देख्दा लाग्छ– यदि हरेक विद्यालयमा एउटा बलराम हुन्थे भने शिक्षा रमाइलो हुन्थ्यो—डर होइन ।
क्लिक चौतारी यस्ता नायकहरूको कथा सुनाउन गर्व गर्छ—जो चमक–दमकभन्दा टाढा, तर बालबालिकाको भविष्य नजिक छन् । बलरामको कथा कुनै अन्त्य होइन, प्रेरणाको अर्को अध्याय हो—जसलाई हामी सबैले बाँड्न, बुझ्न र फैलाउन आवश्यक छ ।
यदि तपाईको वरिवरि पनि यस्तै प्रेरणादायी ब्यक्ति, शिक्षक, सामाजिक अभियन्ता वा असल काम गरिरहेका नायकहरु छन भने हामीलाई जानकारी गराउनुहोस् ।
बलराम खड्काको यो कथा पढेर तपाईलाई के अनुभूति भयो ? तपाईंको विचार, प्रतिकृया वा भोगाइ हामीलाई लेखेर पठाउन नहिचकिचाउनुहोस् ।
हामी सँगै कथाहरू बाँड्दै अघि बढौं – जहाँ शब्द मात्र होइन, प्रेरणा बोल्दछ।