Click Chautari

कमलामाई नगरपालिकाले घोषणा गर्‍यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको ऐतिहासिक उपलब्धि

सिन्धुली, जेठ २४ –

Advertisement

स्वच्छ, सफा र समृद्ध शहरको लक्ष्यसहित अघि बढिरहेको कमलामाई नगरपालिकाले शनिबार एक भव्य समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ। “हिमाल र तराईको मिलनबिन्दु” को रुपमा परिचित यस नगरपालिकाले अब सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेको तथा यो कार्यक्रमलाई दिगो बनाउने आधार तयार गरिसकेको छ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा प्रमुख अतिथि तथा नगर उपप्रमुख शान्ता कार्की विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले गर्नुभयो।

कार्यक्रममा नगरभित्र रहेका सबै १४ वटा वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विभिन्न शाखाका प्रमुखहरू, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक, विद्यालय नर्सलगायत सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

नगरप्रमुख पोखरेलले आफ्नो मन्तव्यमा नगरलाई पूर्ण खोप सुनिश्चित गराउन अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित संस्थाहरूप्रति आभार प्रकट गर्दै भन्नुभयो, “हामीले पूर्ण खोपको लक्ष्य हासिल गर्न सफल भएका छौं, अब यसलाई अझ दिगो बनाउँदै स्वास्थ्यका अन्य कार्यक्रमहरूलाई समेत प्रभावकारी बनाउँदै लैजानेछौं।”

कार्यक्रमको दौरान खोप कार्यक्रममा उल्लेखनीय योगदान गर्ने खोप कार्यकर्ता, स्वयंसेविका र विद्यालय नर्सहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरियो। यसले उनीहरूलाई थप प्रेरणा मिल्ने र भविष्यमा अझ सक्रियतापूर्वक काम गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले नगरपालिकाको यो उपलब्धिलाई अत्यन्त प्रशंसनीय भनी उल्लेख गर्दै भने, “कमलामाई नगरपालिकाले देखाएको प्रतिबद्धता र कार्यान्वयन क्षमता अरू स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ।”

कार्यक्रमले नागरिक सचेतना अभिवृद्धि, संस्थागत समन्वय सुदृढीकरण तथा स्वास्थ्य अधिकार सुनिश्चिततामा पनि महत्वपूर्ण टेवा पुर्‍याएको आयोजकको भनाइ छ।

Advertisement

कमलामाई नगरपालिकाको यो घोषणा स्वास्थ्य क्षेत्रमा स्थानीय तहको सक्रिय भूमिका र प्रतिबद्धताको जीवन्त प्रमाण हो। यो घोषणाले नगरबासीको स्वास्थ्य सुरक्षाका साथै भावी पुस्तालाई स्वस्थ जीवनका लागि बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.