👉 सिन्धुलीमा पहिलो पटक अक्टोपिक प्रविधिबाट पाठेघर बाहिरको गर्भको सफल सल्यक्रिया ।
👉 ट्युब फुटेर पेटमा रगत जमेर ज्यानै जाने अवस्थाको विशेषज्ञ टोलीद्वारा तत्काल उपचार ।
👉 आधुनिक प्रविधिको प्रयोगले कम पीडा, छिटो निको हुने र खर्च कम हुने फाइदा ।
सिन्धुली, २७ जेठ – सिन्धुली जिल्लामा पहिलोपटक (दुरविन प्रविधि अक्टोपिक ) को प्रयोग गर्दै अक्टोपिक गर्भावस्था (पाठेघरबाहिर बच्चा बस्ने अवस्था) को सफल सल्यक्रिया गरिएको छ । सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालमा गरिएको उक्त अपरेशनले जिल्लामा नयाँ स्वास्थ्य प्रविधिको युगको सुरुवात गरेको छ ।
कमलामाई नगरपालिका निवासी मन्दिरा अधिकारी नामक महिलाको ट्युबमा बसेको ६ हप्ताको गर्भको सफलतापूर्वक उपचार गरिएको हो । भर्खरै विवाह भएकी ती महिला पेट दुख्ने र अत्यधिक रक्तस्रावको समस्याका साथ अस्पताल आएकी थिइन् । ट्युब फुटेर पेटमा रगत जमिएको अवस्था रहेको र तत्काल सल्यक्रिया आवश्यक परेको गाइनोलोजिस्ट डा. सरोज यादवले जानकारी दिनुभयो ।
“दुरविन प्रविधिको प्रयोग गरेर फुटेको ट्युब काटियो, त्यहाँ ड्रेन राखेर पेट सफा गरियो,” डा. यादवले भन्नुभयो, “यो ज्यानै जाने जोखिमपूर्ण अवस्था हो। यदि समयमै उपचार नगरिएको भए बिरामीको ज्यान जान सक्थ्यो ।”
उक्त जटिल सल्यक्रियामा डा. सरोज यादवको नेतृत्वमा डा. सशिशेखर अधिकारी, डा. दिन्जुल कटुवाल, डा. प्रेरित देवकोटा लगायतको टोली संलग्न रहेको थियो ।
उपचारपछि स्वास्थ्यमा सुधार
सल्यक्रिया गरिएको महिलाको स्वास्थ्यमा हाल तेजीका साथ सुधार आइरहेको अस्पतालले जनाएको छ । उक्त प्रविधिको प्रयोगबाट बिरामीलाई कम पीडा हुने, छिट्टै घर फर्कन सक्ने र खर्च पनि कम लाग्ने चिकित्सक यादवको भनाइ छ ।
सिन्धुली अस्पतालमा नयाँ प्रविधिको सुरुवात

सिन्धुली अस्पतालमा यसअघि शरीर चिरेर मात्रै सल्यक्रिया गरिँदै आएकोमा, अब भने दुरविन प्रविधिको प्रयोग सुरु भएको छ । अक्टोपिक सर्जरी जस्ता आधुनिक प्रविधिको उपलब्धताले सिन्धुलीबासीलाई अब काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
अस्पताल स्तरोन्नति हुँदै
जिल्लाकै प्रमुख सरकारी अस्पताल सिन्धुली अस्पताललाई एक वर्षअघि ५० शैयाबाट १०० शैय्यामा विस्तार गरी प्रादेशिक अस्पतालको रुपमा विकास गरिएको थियो। अस्पतालमा विशेषज्ञ चिकित्सक, अाइसियु, सिटि स्क्यान लगायतका सेवा विस्तार भइरहेका छन् ।
अस्पताल विकास समितिका अनुसार, आगामी दिनमा समेत प्रविधिसम्पन्न सेवाहरू थप गर्दै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने लक्ष्य लिइएको छ ।