कमलामाई नगरपालिकामा आज एक औपचारिक कार्यक्रमका बीच १९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको छ ।
नगरपालिकाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रम कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा ३ जनालाई कृत्रिम खुट्टा, २ जनालाई ह्विलचेयर, ६ जनालाई सेतो छडी, २ जनालाई कालो छडी, ४ जनालाई बैसाखी र २ जनालाई कृत्रिम हात वितरण गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा उपप्रमुख देवकोटाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र सहयोगका लागि नगरपालिकाले समय–समयमा घरदैलो कार्यक्रम, अपाङ्गता परिचय पत्र वितरण र घुम्ती शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। साथै, अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि पनि पालिकाले सक्दो सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, मकवानपुरको आयोजना, कमलामाई नगरपालिकाको सहकार्य तथा सिन्धुली अपाङ्ग संघको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिन्धुली अपाङ्ग संघका अध्यक्ष निरञ्जन ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, समाजकल्याण शाखा प्रमुख इन्दीरा कुमारी थापा, वडा नं. २, ३, ४, ५, ८ र १० का वडाध्यक्षहरु, अपाङ्ग सरोकार केन्द्र मकवानपुरका कर्मचारीहरु तथा अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।