सिन्धुली, असार २६
। सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षा प्रवर्द्धनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाइमा आज विहान भिमान बसपार्कमा विशेष सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।सडकमा चल्ने सवारीसाधनका चालकहरुलाई लक्षित गरी गरिएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदी, जनस्वास्थ्य कार्यालय, ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय भिमानको संयुक्त सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत बिपी राजमार्ग र मदन भण्डारी राजमार्गमा चल्ने सवारीसाधनहरुका चालकहरुमाथि लागुपदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ठूला–साना गरी ७४ वटा सवारीसाधनका चालकहरुलाई सचेतना दिइएको र उनीहरुमध्ये ६ जना चालकहरुले लागुपदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चालकहरु र उनीहरुले चलाएका सवारीसाधनको विवरण मा सन्तोष अछामी — सिन्धुली क.न.पा. ४ निवासी, म.प्र.०४-००१ क ००३२ नम्बरको ट्रकका चालक, बर्दीबासतर्फ जाँदै थिए। यसैगरी क्रमशः विजय कुमार ठाकुर — जनकपुर उपमहानगरपालिका–२३ निवासी, ख ४९८० नम्बरको बस चालक, सिन्धुलीतर्फ गइरहेका थिए। विमल तामाङ — उदयपुर, कटारी नगरपालिका–४ निवासी, ख ३८८९ नम्बरको टिफर चालक, कटारीतर्फ जाँदै थिए। शंकर तामाङ — सिन्धुली, दुधौली नगरपालिका–९ निवासी, ख ५९६१ नम्बरको बस चालक, सिन्धुलीतर्फ गइरहेका थिए। पदम बहादुर कार्की — सिन्धुली, दुधौली नगरपालिका–१४ निवासी, ख ७२१४ नम्बरको टिफर चालक, कटारीतर्फ जाँदै थिए। लक्ष्मण भण्डारी — महोत्तरी, बर्दिबास नगरपालिका–३ निवासी, ख ६५ नम्बरको बस चालक, कटारीतर्फ गइरहेका थिए।
यी सबै चालकहरुलाई तत्काल नियन्त्रणमा लिइएर इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सडकमा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुनी अपराध मात्र नभई जनजीवनलाई समेत संकटमा पार्ने कार्य भएकाले यस्ता घटनालाई कडाइका साथ नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
जिल्ला प्रशासनले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।