सिन्धुली, असार २७
। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसँगै जिल्लाका विभिन्न स्थानीय तहहरूले आफ्नो वार्षिक वित्तीय प्रगति विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म जिल्लाका नौ स्थानीय तहहरूमध्ये पाँच स्थानीय तहले प्रगति विवरण सार्वजनिक गरेका छन्, जसमा गोलञ्जोर, सुनकोशी, मरिण, हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिका रहेका छन् ।सुनकोशी गाउँपालिका : ७७.५ प्रतिशत खर्च
सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा ७७ दशमलव ५ प्रतिशत बजेट खर्च भएको जनाएको छ। विवरणअनुसार, गाउँपालिकाले चालुतर्फ ३८ करोड १८ लाख ४७ हजार र पूँजीगत तर्फ १३ करोड ३२ हजार रुपैयाँ खर्च गरेको छ। चालु बजेट खर्च ८२ प्रतिशत र पूँजीगत खर्च ६६ दशमलव ७३ प्रतिशत पुगेको गाउँपालिकाले जानकारी गराएको छ ।
गोलञ्जोर गाउँपालिका : ८४.२७ प्रतिशत खर्च
गोलञ्जोर गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार कुल ५७ करोड १३ लाख ११ हजार ५ सयको बजेटमध्ये ४८ करोड १४ लाख ९९ हजार ९ सय ४३ रुपैयाँ ९ पैसा खर्च गरिएको छ । कुल खर्च अनुपात ८४ दशमलव २७ प्रतिशत रहेको छ। यो जिल्लामै उच्च खर्च प्रतिशत मानिएको छ ।
मरिण गाउँपालिका : ८१.१५ प्रतिशत चालु खर्च
मरिण गाउँपालिकाले चालुतर्फ ३५ करोड ८५ लाख ९७ हजार २ सय ९५ रुपैयाँ २० पैसा खर्च गरेको छ, जुन ८१ दशमलव २५ प्रतिशत हो । पूँजीगततर्फ भने १२ करोड २९ लाख २ हजार ६ सय ४७ रुपैयाँ ८९ पैसा खर्च भई ७९ दशमलव २५ प्रतिशत पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले यो विवरण सार्वजनिक गरेका हुन् ।
हरिहरपुरगढी गाउँपालिका : पूँजीगत खर्च ७६.२५ प्रतिशत
हरिहरपुरगढी गाउँपालिकाको चालु खर्चतर्फ ४२ करोड ३८ लाख ८३ हजार ९६० विनियोजन गरिएकोमा ३३ करोड १६ लाख १२ हजार ८५६ दशमलव ६० अर्थात् ७८ दशमलव २३ प्रतिशत खर्च भएको छ । पूँजीगत खर्चतर्फ २७ करोड ८४ लाख १२ हजार ३४० विनियोजनमा २० करोड ३९ लाख २४ हजार ३१४ अर्थात् ७३ दशमलव २४ प्रतिशत खर्च भएको जनाइएको छ । अाैषतमा याे ७६.२५ प्रतिशत हाे ।
कमलामाई नगरपालिका : उच्च चालु खर्च ८४.४१ प्रतिशत
जिल्ला सदरमुकाम रहेको कमलामाई नगरपालिकाले पनि आफ्नो आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, नगरपालिकाले चालु तर्फ ८९ दशमलव ४१ प्रतिशत र पूँजीगत तर्फ ७४ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । कुल खर्च अनुपात ८४ दशमलव ४१ प्रतिशत रहेको छ ।
जिल्लाका अधिकांश स्थानीय तहले चालु बजेट खर्च राम्रो देखाएका छन् भने पूँजीगत खर्च केही कम देखिएको छ। यद्यपि सार्वजनिक गरिएका विवरणहरूले बजेट कार्यान्वयन र सेवा प्रवाहतर्फ स्थानीय तहहरू सचेत रहेको संकेत गर्छ । बाँकी स्थानीय तहहरूले पनि आफ्नो वित्तीय प्रगति छिट्टै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।