सिन्धुलीगढीमा आयोजित २५८औं विजयउत्सवमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले अबको लडाइँ समृद्धिको भएको बताउँदै सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा वीर गोर्खालीहरूको ऐतिहासिक योगदान स्मरण गर्दै पर्यटन र विकासका योजना पनि प्रस्तुत गरिए।
सिन्धुलीगढी (कात्तिक २४) | इतिहासले गोर्खाली वीरताको गाथा लेखेको सिन्धुलीगढी सोमबार फेरि उत्सवमय बन्यो । २५८ वर्षअघि यही माटोमा अंग्रेज फौज परास्त भएकाे क्षणको स्मरणमा मनाइएको सिन्धुलीगढी विजयउत्सवमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले “अबको लडाइँ समृद्धिको हो” भन्दै सबैकालागि एकताको आह्वान गर्नुभयो ।
“समृद्धिको लडाइँ सुशासन, पारदर्शिता र जवाफदेहिताबाट सुरु हुन्छ,” उहाँले भन्नुभयो, “त्यो सुनिश्चित नहुँदा बिद्रोह जन्मिन्छ र प्रणालीमाथि प्रश्न उठ्छ ।”
मुख्यमन्त्री बानियाले समयसँगै चल्न सक्ने नेतृत्व र जिम्मेवार नागरिक चेतनानै नयाँ पुस्ताको माग भएको उल्लेख गर्दै भने, “जेनजी पुस्ता शब्दमा होइन, कार्यमा विश्वास गर्छ । समय बलवान छ—हामी पनि समयअनुसार बदलिनुपर्छ ।”

उहाँले गणतन्त्रलाई “जनता र गरिबको व्यवस्था” भन्दै यसलाई अझ मजबुत बनाउने आवश्यकता औंल्याउनुभयो । “राजनीतिमा आएका नेताले सेवाभावले काम गर्नुपर्छ, सुविधा लोभले होइन,” मुख्यमन्त्री बानियाको भनाइ थियो । “तीनै तहका नेताले आफ्नो सुविधा त लिए, तर जनताले पाउन सकेनन् भन्ने भाष्य बलियो बन्दै गएको छ ।”
इतिहास र गौरवको प्रतीक — सिन्धुलीगढी
सो अवसरमा नेपाली सेनाका मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसीले सिन्धुलीगढीलाई “नेपाल र अंग्रेज युद्धको जीवित इतिहास” भन्दै यसको संरक्षण र प्रवर्द्धन सेनाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल एकीकरणका ऐतिहासिक स्थलहरू जोगाउने हाम्रो नीति हो । यही नीतिअन्तर्गत सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण गरिएको छ ।”
२५८ वर्षअघिको इतिहास सम्झिँदै कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले भने, “बि.सं. १८२४ असोज १५ गते यही स्थानमा गोर्खाली सेना र स्थानीयले घरेलु हतियारको भरमा अंग्रेज सेनालाई परास्त गरे । त्यो जित नहुँदो हो त नेपाल स्वतन्त्र रहँदैनथ्यो ।”
वीरताको माटोमा समृद्धिको सपनासँग
मेयर पोखरेलका अनुसार, कात्तिक २४ गतेको दिन प्रत्येक वर्ष विजयउत्सव मनाउने परम्परा वीर गोर्खालीहरूको योगदानप्रतिको सम्मान हो । अहिले यो पर्व इतिहास, पर्यटन र गौरव तीनैको संगम बनेको छ ।
कार्यक्रममा मुख्यमन्त्री बानियाले सिन्धुलीगढीको प्रमुख गढीमा राष्ट्रिय झण्डा फहराएर देशभक्तिको प्रतीकात्मक सन्देश दिनुभयो । त्यसपछि नेपाली सेनाको भवानी बक्स गणका कलाकार र कला घर सिन्धुलीका सांस्कृतिक समूहले प्रस्तुत गरेका विविध नृत्यले वातावरण झनै उत्सवमय बनेको थियो ।
पत्रकार महासंघको पहलबाट सुरुहुदै, नगरको स्वामित्वमा निरन्तरता
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले स्मरण गराउनुभयो — “सिन्धुलीगढी विजयउत्सवको सुरुवात २०६७ सालमा पत्रकार महासंघको पहलमा भएको हो । अहिले कमलामाई नगरपालिकाले यसलाई आफ्नो स्वामित्वमा लिएर निरन्तरता दिइरहेको छ ।”
नगरपालिकाका अनुसार पछिल्लो समयमा सिन्धुलीगढी पर्यटन गन्तव्यका रूपमा उदाउँदै गएको छ । ऐतिहासिक किल्ला संरक्षण, युद्ध सङ्ग्रहालय निर्माण, रानीदरबार पुनर्निर्माण र पूर्वाधार विस्तारका कामहरू अगाडि बढाइएका छन् ।
कार्यक्रमको अध्यक्षता मेयर उपेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य मन्जु देवकोटाले प्रस्तुत गर्नुभएको थियो ।



