Click Chautari

ग्वाङखोलाको पक्की पुल अलपत्र: पाँच वर्ष बित्दा पनि काम ८३ प्रतिशतमै अड्कियो

ग्वाङखोलाको पक्की पुल अलपत्र: पाँच वर्ष बित्दा पनि काम ८३ प्रतिशतमै अड्कियो
Advertisement

मङ्सिर २५, सिन्धुली ।

सदरमुकाममै निर्माणाधीन ग्वाङखोला पक्की पुल अलपत्र

सिन्धुलीमाढीस्थित ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने महत्वपूर्ण ग्वाङखोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा पुगेको छ । सङ्घीय सरकारबाट करिब आठ करोड ५० लाख रुपैयाँ लागतमा सुरु गरिएको पुल निर्माणमा निरन्तर ढिलासुस्ती हुँदा स्थानीयवासी आक्रोशित छन् ।

Advertisement

२०७७ साल भदौ १० गते महादेव खिम्ती–अन्जना–सारस जेभीले सम्झौता गरी निर्माण सुरु गरेको यो पुल २०८० जेठ ९ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर तोकिएको समयमै काम नसकिएपछि दोस्रो पटक म्याद थप गरी २०८३ साल जेठ मसान्तसम्मको अवधि दिइए पनि निर्माण अझै ८३ प्रतिशत भौतिक प्रगतिमै रोकिएको छ ।

ढुङ्ग्रेबास बजारका स्थानीय दिपेन्द्र श्रेष्ठ भन्छन्, “सदरमुकामकै मुटुमा रहेको पुलले पाँच वर्षसम्म पनि रुप लिँदै नलिनु ठेकेदारकै लापरबाही हो । जग्गा विवाद छैन, तर काम नगर्न ठेकेदारले त्यही बहाना देखाउँदै आएको छ ।”

जोखिम मोलेर खोलामै वारपार

पुल अलपत्र हुँदा स्थानीय वर्षायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् । एक समयमा निर्माणका क्रममा खनिएको खाडलमा डुबेर एक बालकको ज्यान समेत गएको घटना अझै ताजा छ ।

प्राविधिक निरोज महर्जनका अनुसार पुलको अधिकांश संरचनागत काम सकिएको छ तर एप्रोच रोड नबनेका कारण पुल सञ्चालनमा ल्याउन सकिएको छैन । “एप्रोच रोडका लागि साँढे सात मिटर चौडा जमिन चाहिन्छ। स्थानीयले नदिँदा समस्या भएको हो । जमिन उपलब्ध भएको भए गत वर्षमै पुल तयार हुन्थ्यो,” महर्जन बताउँछन् ।

Advertisement

एप्रोच रोडकै कारण ठूलो समस्या

निर्माण व्यवसायी रमेश कुँवर भन्छन्, “सुरुमा नक्सा–डिजाइन नमिल्दा केही ढिलाई भयो । अहिले दुई तिरका एप्रोच रोड बनाउन आवश्यक जग्गा नछोडेकै कारण काम अड्किएको हो ।”

स्थानीयको भनाइ भने फरक छ । उनीहरूका अनुसार ठेकेदारकै लापरबाही र कामप्रति उदासीनताले पुल समयमै नबनेको हो ।

तीन पुल बने, तर मुख्य पुल अलपत्र

उही ग्वाङखोलामा पुल निर्माण सुरु भएपछिका वर्षमा अन्य तीनवटा पक्की पुल बनेर सञ्चालनमा आइसकेका छन् । तर ढुङ्ग्रेबास–धुरा बजारलाई जोड्ने मुख्य पुलमा भने प्रगति सुस्तै छ । पुल नबन्दा सर्वसाधारण दैनिक जोखिममा छन्, व्यापारी तथा विद्यार्थीहरू पनि यो समस्याबाट प्रभावित भएका छन् ।

स्थानीय प्रश्न– ‘पाँच वर्षमा पनि पुल नबन्ने हो भने कहिले बन्ने?’

सिन्धुलीमाढी बजार क्षेत्रकै अत्यन्त महत्वपूर्ण मानिएको ग्वाङखोला पुल कहिले पूर्ण रूपमा सञ्चालनमा आउने हो भन्ने प्रश्न अझै अनुत्तरित छ । म्याद थपिँदै गएको छ, बजेट खर्च हुँदै गएको छ, तर परिणाम भने शून्यजस्तै छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.