सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका साबिकका ७ वटा गाविसहरु मिलेर बनेको स्थानीय तह हो । बीपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएको यो स्थानीय तह विकासका लागि निकै संभावना बोकेको ठाँउहो । नेपाल सरकारको मिति २०७३ साल फाल्गुण २७ मा स्थानीय तहको घोषणा भएपछि २०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात जेष्ठ ८ गते पद वहाली भइ तत्पश्चात भएको स्थानीय तहको गठन पछि यस गाँउपालिकामा नेपाली काँग्रेसको तर्फबाट पुष्पबहादुर कार्की अध्यक्ष पदमा निर्बाचित हुनु भएकोहो । उनै अध्यक्ष कार्कीसंग क्लिक चौतारीका लागि पत्रकार बाबुराम देवकोटाले गर्नु भएको कुराकानीको संपादित अंस
जनताले प्रत्यक्ष अनुभूती गर्ने शिक्षा क्षेत्रमा परिवर्तन गरेकाछौं ।
म निर्बाचित भएपछि जनताले प्रत्यक्ष रुपमा परिबर्तनको अनुभव गरेको पहिलो क्षेत्र भनेको शिक्षामा हो । हामीले सामुदायिक विद्यालयहरुलाई नीजि अर्थात बोर्डिङ स्कूलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियातमा पु¥याएका छौं । यद्यपी अहिले कोभिडको कारणले गर्दा हामीलाई केही कठीनाईहरु भएका छन् । तर पनि हामीले अनलाईन क्लास लगायतका अन्य बैकल्पिक शिक्षणका माध्यमले पढाई सञ्चालन गरि रहेका छौं । जनताले प्रत्यक्ष अनुभव गर्ने शिक्षामा परिबर्तन गरेका छौं । यस्तै दोस्रोमा भौतिक पूर्वाधार निर्माणहरुमा जस्तै सडक प्रत्येक टोलमा पुगेको छ किनकी बाटो नै अन्य विकासको पहिलो आधार हो त्यसैले हामीले सडक बाटोलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । स्वास्थ्यको क्षेत्रमा उल्लेख्य मात्रामा सुधार गरेका छौं । केही ठाँउमा स्वास्थ्य संस्थाहरु र कर्मचारी थप गरेर सेवा प्रवाह गरि रहेका छौं । प्रत्येक टोलटोलमा खानेपानी व्यवस्थापन गरेका छौं । यद्यपी केही ठाँउमा भने अझै पूूर्ण हुन बाँकीनै छन ।
मैले चुनावमा गर्छु भनेका प्रतिवद्धता पुरा गरेकोछु ।
निर्बाचनका बेला जनतासँग मैले गरेको प्रतिबद्धताहरु शतप्रतिशत अर्थात सबैनै पुरा गरेकोछु । मैले चुनावको बेला कसैलाई पनि झुठा आश्वासन दिएको थिएन जे मैले गर्न सक्छु भन्ने लागेको थियो त्यहीनै भनेको थिए र सोही अनुसार गरेकोपनि छु । त्यसैले म दावाको साथ भन्न सक्छु कि मैले चुनाव अगाडी जनताको सामुन्यमा आफैले गएर जनताका अगाडी गर्छु भनेका बाचाहरु एउटा पनि बाँकी नराखी सबै गरेकोछु । तर यसको मतलब यो हैन कि अब मैले गर्नुपर्ने केही छैन । त्यो हैन मैले गर्नु पर्ने आफ्नो गाँउपालिकालाई नमूना गाँउपालिका बनाउनको लागि गर्नुपर्ने विकास निर्माणका कामहरु अझै धेरैनै बाँकी छन् । यति हो की मैले चुनावमा गर्छु भनेका प्रतिबद्धता चाही सबै पुरा गरेकोछु ।
उद्यमशिलता तथा कृषि क्षेत्रमार्फत रोजगारी सिर्जना गरिरहेकाछौं ।
गाँउमा प्रशस्त मात्रामा रोजगारी श्रृजना गर्न हामी संग पर्याप्त पूँजी छैन । जे जति भएका श्रोतहरुछन तिनलाई उपयोग गरेर हामीले पहिलो चरणमा जनताको आयआर्जन वृद्धि गर्नको लागि पशुपालन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर कामहरु गरिरहेकाछौं । अर्को तर्फ हामीले ब्यावसायिक फलफुल, तरकारी खेतीहरुमा उल्लेख्य मात्रामा अनुदान दिएर जतिसक्दो धेरै युवालाई कृषि पेशा प्रति आकर्षण गर्ने हिसाबले काम गरेका छौ । जहाँ सिंचाईको उपलब्धता छैन, त्यो ठाँउमा पनि लिफ्टद्वारा सिंचाई उपलब्ध गराएर युवालाई काम गर्ने बाताबरण मिलाएका छौं । उद्यमशीलता तर्फ युवाहरुलाई आकर्षण बढाउने योजनाहरु ल्याएकाछौं । पशुपालन तर्फ हामीले दुध जन्य उत्पादनलाई पकेटक्षेत्र कार्यक्रम विस्तार गरि उत्पादित बस्तुको निर्यात गर्ने हैसियत निर्माण गराउदैछौं । भौगोलिक हिसावले र हाम्रो क्षेत्रमा २/२ वटा राजमार्ग भएको हुँदा यस अवसरलाई सदुपयोग हुने गरी हामीले लगानी गरिरहेकाछौं । हाल हामीसंग ठूल ठूला उद्योग कलकारखाना राख्ने हैसीयत तर हामी संग उपलब्ध जे जति स्रोत साधन छन त्यस्लाई भरपुर उपयोग गर्ने कुरामा हामी कुनै कसर बाँकी राख्ने छैनौ ।
हामीहरुकोमा जुनखालको राजनीतिक प्रणाली छ । त्यो प्रणालीभित्र रहेर काम गर्दै जाँदा खेरी जतिसुकै राम्रो काम गर्दा पनि विपक्षि दलहरुबाट आउने फिडब्याक भनेको यहाँ यस्तो भएन, त्यहा त्यस्तो भएन भन्नेनै हुन्छ ।
गाँउपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउन लागि परिरहेकाछौं ।
मैले अघिनै भने कि हाम्रो गाँउपालिका कृषि उब्जनीको लागी उर्वर भूमीहो, हामीसंग २/२ वटा राजमार्ग हाम्रो क्षेत्र हुदै जान्छन, हामीसँग सुनकोशीछ, मनमोहक दृश्यावलोकन गर्ने र जैविक विविधताले भरिपूर्ण महाभारत श्रृंखलाहरुछन । यी सबैलाई समेटेर हाल हामीले गौरवको आयोजना अन्तर्गत साइकलजोन, गोलञ्जोर भ्यू टावर र सुनकोशी ¥याफटीङ्गका महत्वकांक्षी योजनाहरुलाई अगाडी बढाएकाछौं । अहिले हामीसँग सिमित वजेटका कारण हाम्रा महत्वकांक्षी आयोजनाहरुलाई पूर्णता दिन सकेका छैनौं । हामीले हाम्रो आयोजना पुरा गर्नकालागि संघिय सरकार र प्रदेश सरकारसँग पनि साझेदारीमा कार्यक्रम संचालन गर्न पटक पटक अनुरोध ग¥यौं तर संघिय सरकार र प्रदेश सरकार पूर्वाग्रही ढंगले लागेको हुँदा हामीले सोचे अनुरुप गर्न सकेका छैनौं । हालको बदलिदो राजनैतिक परिस्थीतिका कारण अब हाम्रा योजनाहरुलाई चाढैंनै हामी सम्पन्न गर्ने तर्फ लाग्दछौं । साथै हाम्रो योजनासंग मेल खाने अन्य निजी साझेदारहरुसँग पनि हामी हात बढाउदै जानेछौ । यसै गरी दुग्ध जन्य उत्पादनलाई वृद्धि गरि हाम्रो गाउँपालिकाको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउदैछौं । भने साना ब्याबसायिहरुलाई उत्पादनमा प्रोत्साहित गरी उनीहरुलाई उद्यमी बनाउन जोड दिदैछौं ।
स्वास्थ्य, शिक्षा र रोजगारी हाम्रो प्राथमिकताहुन ।
हाम्रो गाँउपालिकाले हालको विषम परिस्थिति कोभिड –१९ को कारण र अन्य हिसावले पनि पहिलो प्राथमिकता भनेको स्वास्थ्य क्षेत्रनै हो । कोभिडको कारणले मानवीय क्षेती नहोस भनेर हामी त्यस तर्फ सचेतता पूर्वक लागी रहेकाछौं । र रोकथामका उपाएहरु के के गर्न सकिन्छ भनेर हरसम्भंव कोशिस गरिरहेका छौं । अति विपन्न परिवारहरुको पेट भोको नहोस भन्नका लागि विभिन्न आर्थिक प्याकेजका कार्यक्रमहरु ल्याएकाछौं ।
त्यसैगरी शैक्षिक क्षेत्रलाई निजी क्षेत्रका विद्यालयसँग प्रतिश्पर्धी बनाउने हिसावले काम गरिरहेकाछौं । यो गाउँपालिकालाई हामी शैक्षिक हवको रुपमा विकास गर्ने योजनाको रुपमा लागि परेकाछौं । किनकी विकासको पहिलो आधार भनेको शिक्षा र स्वास्थ्य नै हो । यसैगरी पूर्वाधार निर्माण र उद्यमशीलतालाई जोड दिएकाछौं ।
जतिनै राम्रो काम गरेता पनि विपक्षीहरुबाट जस पाइदैन ।
नेपालको सन्दर्भमा सबैभन्दा ठूलो कुरा त राजनीतिक चुनौती नै हो । हामीहरुकोमा जुनखालको राजनीतिक प्रणाली छ । त्यो प्रणालीभित्र रहेर काम गर्दै जाँदा खेरी जतिसुकै राम्रो काम गर्दा पनि विपक्षि दलहरुबाट आउने फिडब्याक भनेको यहाँ यस्तो भएन, त्यहा त्यस्तो भएन भन्नेनै हुन्छ । राम्रो कामको कहिल्यै पनि कसैले मूल्यांकन गर्दैन । यस किसिमको प्रवृतिले काम गर्दा गर्दै गरेको कामको पनि जस नपाउदा बेलाबेलामा निराशा पैदा हुने गर्दछ । तर पनि आफुले प्रदर्शन गर्नु पर्ने क्षमता, हामीसँग भएको अथवा हामीले उहाँहरुलाई कसरी समेटेर लैजान सकिन्छ भनेर बुद्धिमता, क्षमता प्रदर्शन गर्ने कुरा नै प्रमुख रहनेछ । हामीले पनि बुझ्यौ केही र त्यही अनुसार उहाँहरुलाई पनि मिलाउदै अगाडी लागेका छौं । जसोतसो अगाडी घस्रि रहेका छौं । मलाई लाग्छ, हामी अबको १० बर्षमा पूर्ण रुपमा आत्मनिर्भर बन्न सक्छौं ।
पर्यटन क्षेत्रबाटनै हाम्रो गाँउपालिकालाई समृद्ध बनाउन सकिन्छ ।
हाम्रो गाउँपालिका विविध किसिमले पर्यटनको प्रचुर संभावना बोकेको ठाँउहो । साईकल जोन, भ्यू टावर र सुनकोशी ¥याफ्टिङ यी तीन वटा क्षेत्रहरु विशेष गरि हाम्रो प्राथमिकताको क्षेत्र हुन् । हाल साइकलजोनको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेकोछ । सोला भञ्ज्याङ्ग देखि हिर्दिङ्ग सम्म करिव १० कि.मी. ट्र्याक खुल्ला भइसकेकोछ । यो साइकलजोन क्षेत्रभित्र जैविक विविधता लाइ असर नगर्ने गरी विभिन्न स्थानहरुमा सम्भाब्यता पहिचान गरि पर्यटकलाई आकर्षित गर्ने अन्य विभिन्न गतिविधी संचालन गर्नेछौं । यो हाम्रो महत्वकाक्षी योजना हो । यसैले यसलाई हामी छुट्टै विकास समिति गठन गरि साइकलजोन योजनालाई अगाडी वढाउनेछौं ।
अब हामी चाढैंनै स्थानीय लगानी निजी साझेदारी र संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै वृहत योजना सहित हामी अगाडी वढ्ने छौं हामी करिव २ सयको हाराहारीमा यहाँ प्रत्यक्ष रोजगारी सृजना गर्ने र यस क्षेत्रमा स्थानीय उत्पादनलाई उपयोग गर्दै अरु थुप्रै जनताहरुलाई आम्दानीको स्रोत वढाउने तर्फ हामी लक्षितछौं । यसको लागि हामी साइकलजोन क्षेत्र भित्र वाह्य उत्पादनहरुलाई प्रतिवन्द लगाइ स्थानीय उत्पदानहरु मात्र यहाँ आउने पर्यटकहरुले उपभोग गर्न पाउनेछन् । जसले गर्दा हाम्रो स्थानीय उत्पादनले सहज रुपमा बजार पाउनेछन । यसैगरी साइकलजोन, भ्यू टावर, ¥याफटिङ्ग लगाएत हाम्रो क्षेत्र जुनार उत्पादनको मुख्य क्षेत्र भएको हुँदा यी सवैलाई जोडेर होमस्टे संचालन गर्नेछौं ।
हामीले केही काम पुरा गर्दै जाँदाखेरी यिनीहरु भनेको पछाडी जोडिदै आउने कुराहरु हुन् । पर्यटनको क्षेत्रमानै हामीहरुको भविष्य छ, देखिन्छ । हामीले जतिसक्दो लगानी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा गर्न सक्यौ भने गोलन्जोरको भविष्य धेरै नै उज्वल छ भन्ने लाग्छ ।
कोभिड नियन्त्रणका लागि लागिपरेका छौं ।
हामीले पाँच बेडको हस्पीटल व्यवस्थापन गरेका छौं । हामीसँग एमविविएस डाक्टर हुनुहुन्छ । आवश्यक सामग्रीहरु हामीसँग छन् । यद्यपी हमीसँग आईसियु छैन, त्यो अहिले हाम्रो क्षमताले भ्याएको छैन । हामीसँग नजिकै रहेको निजी क्षेत्रबाट संचालित शुभजीवन हस्पीटललाई पनि उपयोग गरि रहेका छौं । कतिपय विरामीहरुलाई आईसियुमा राख्नु पर्ने हुदा तत्काल बिरामीलाई बाहिर पठाउनुको बिकल्प छैन । कोरोना भनेको जति भिडभाड कम गर्न सक्यो, जति बाहिर मान्छेहरुलाई कम आवतजावत गर्न दियो त्यती न्युनिकरण हुने हाम्रो आकलन छ र सोही अनुरुपको व्यवस्थापन हामीहरु गरिरहेका छौं । र तुलनात्मक हिसावमा हाल सम्म हामी कोभिडलाई सहि तरिकाले ब्यवस्थापन गरिरहेकाछौं ।
साना तथा मझौला किसिमका पूर्वाधारहरु निर्माण गरिसक्यौ अब ठूला योजनामा केन्द्रित छौं ।
भौतिक पूर्वाधारको क्षेत्रमा बिशेष गरेर हाम्रो सडक, खानेपानी, सिचांई लगाएतका यीनै क्षेत्रमा काम भएको छ जुन जनताको माग अनुरुप पर्याप्त मात्रामा काम भएका छन् । प्रत्येक टोलमा बाटो पुगेको छ । प्रत्येक बस्ती बस्तीमा खानेपानी पुगेको छ । तर हामीले भौतिक संरचनाहरु भवन र बिल्डिङ ठूला खालका निर्माण गर्न सकेको अवस्था भने छैन । आवश्यकता अनुसार स–साना बिल्डिङहरु स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र अस्थायी स्वास्थय चौकीको भवनहरु निर्माण गर्दै गएका छौं । अहिलेसम्म आठ वटा भवनहरु निर्माण गरि सकेका छौं । अब हाम्रो योजना भनेको कृषी क्षेत्रलाई समेटेर विभिन्न स्थानहरुमा संकलन केन्द्र, कोल्ड स्टोरहरु लगाएतका कार्यहरु हाम्रो प्राथमिकतामा रहेका छन ।
संघिय र प्रदेश सरकारबाट स्रोत बाडफाडमा हामीलाई अपहेलना गरिएकोछ ।
हाम्रो देशको राजनैतिक प्रणालिका कारण हाल सम्म जिरोको अवस्था छ । हामीले नियम अनुसार सङघियता अर्थात संविधानले दिएको नियमभन्दा बढी केही प्राप्त गर्न सकेका छैनौ । जुन गाउँपालिका तथा नगरपालिकाले तल देखि माथी सम्म एउटै पार्टीले जितेको ठाँउहरुमा जसरी हामीले राजनैतिक पूर्वाग्रहीका कारण थप बजेट प्राप्त गर्न सकेका छैनौ । विगतका वर्षहरुमा समान हैसीयत भएको स्थानीय तहमा अन्य स्थानीय निकायको तुलनामा हाम्रोमा बजेट ज्यादै न्यून छ । शसर्त बजेट उहाँहरुले निकै माथि ल्याउनु हुन्थ्यो । हामीले त्यो पाउन सकेका थिएनौं । एक हिसाबले भन्नुपर्दा खेरी हामी कर्णाली पारीतिर बस्ने मानिसहरु जस्तो निरिह भएर शिर झुकाउनु बाहेक अरु उपाय थिएन । हामीले नियमले जति पाउनु पर्ने हो अर्थात स्रोत बाँडफाँड समितिले जति बाँडी दिन्थ्यो, त्यती मात्र उपलब्ध भएकोछ स्रोत बाडफाडमा हामीलाई अपहेलना गरिएकोछ । तर अहिलेको परिवर्तित राजतिनीले यो बर्षबाट केही प्रगती गर्न सकिन्छ की भन्ने आसमा चाहि छौं ।
अन्त्यमा
म सम्पूर्ण गोलन्जोरबासी आमाबुबा, दाजुभाई र दिदिबहिनीहरुलाई मेरो एउटै अनुरोध छ । त्यो भनेको हामीले समृद्धि ल्याउनका लागि, सम्पन्नता प्राप्त गर्नका लागि यति दुःख गरेर पुग्दैन । हामीलाई कसैले ल्याएर पोल्टामा हालि दिने चिज पनि होईन समृद्धि भनेको । त्यसकारण समृद्धि ल्याउन तपाँईको पसिना र मिहिनेतको जरुरी छ । पसिना र मिहिनेत तपाँई गर्नुस, तपाईलाई मैले गर्नु पर्ने सहयोग आर्थिक रुपमा होस, सामाजिक रुपमा होस, राजनीतिक रुपमा होस । जुनसुकै रुपमा पनि म तयार छु । तपाईहरुको जतिबेर पनि भारी बोक्नका लागि तयार भएर बसेको छु । त्यो माध्यम मिलाउनका लागि म तयार छु । तर परिश्रम यहाँहरुले गरि दिनुस । अन्त्यमा तपाँईहरुको कोभिडको कारणले गर्दा जे जति क्षती व्यहोरि रहनु भएको छ । त्यो क्षती पूर्ण रुपले राहत दिन सक्दैनौ होला । तर यहाँहरुको चुल्हो भने निभ्न दिदैनौं । तपाँईहरुलाई आवश्यक पर्दा जतिबेला पनि म उपलब्ध हुन सक्छु भन्ने सन्देस दिन चहान्छु ।
Discussion about this post