सिन्धुलीका खेलाडीहरूले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ मा विभिन्न खेलमा सफलता हासिल गरेपछि जिल्ला खेलकुद विकास समितीले सम्मान गरेको छ।
सिन्धुली, जेठ २१ – जिल्ला खेलकुद विकास समिती सिन्धुलीले १५ औँ बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा जिल्लाको नेतृत्व गर्दै सहभागी भएका तथा पदक विजेता खेलाडीहरूलाई एक औपचारिक कार्यक्रममार्फत सम्मान गरेको छ ।
बागमती प्रदेश सरकारको आयोजनामा दोलखाको चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिन्धुलीका खेलाडीहरूले कराते, तेक्वान्दो, कवड्डी, एथलेटिक्स र भलिबल जस्ता विभिन्न खेलतर्फ सहभागिता जनाएका थिए। तीमध्ये धेरै विधामा सिन्धुलीले उल्लेखनीय सफलता प्राप्त गर्दै जिल्लाको गौरव बढाउन सफल भएको छ ।

भलिबलतर्फ पुरुष समूहले दोस्रो र महिला समूहले तेस्रो स्थान प्राप्त गरे । एथलेटिक्समा पनि सिन्धुलीले सफलता हात पार्यो । हाइजम्पतर्फ पुरुष खेलाडीले दोस्रो स्थान, ज्याभलिङ थ्रोमा महिला खेलाडीले तेस्रो स्थान र सटफुटमा पुरुष खेलाडीले तेस्रो स्थान प्राप्त गरे । यसरी एथलेटिक्समा सिन्धुलीले तीन वटा पदक जित्न सफल रह्यो ।

उसु खेलमा सिन्धुलीले एक स्वर्ण पदक जित्नुका साथै तेस्रो स्थान पनि प्राप्त गरेको छ । करातेतर्फ महिला एकल कातामा दोस्रो, ६० के.जि. तौल समूहमा तेस्रो र ४५ के.जि.मा दोस्रो स्थान प्राप्त भएको छ । यसैगरी तेक्वान्दोको ४८ के.जि. तौल समूहमा पनि सिन्धुलीका खेलाडीले दोस्रो स्थान हासिल गरेका छन् ।

यस प्रतियोगितामा सिन्धुली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीहरूले प्रतिनिधित्व गरेका थिए । उनीहरूकै प्रयासले जिल्लाले विभिन्न विधामा सफलता हासिल गर्न सकेको हो ।
खेलाडीहरूको सम्मान तथा बधाई कार्यक्रम जिल्ला खेलकुद विकास समिती सिन्धुलीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा समितिका अध्यक्ष वीर बहादुर थिङको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामा उपस्थित थिए । कार्यक्रममा खेलप्रेमी, प्रशिक्षक, अभिभावक र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप गरिएको कार्यक्रममा, यस्ता गतिविधिले खेलाडीहरूलाई अझ प्रेरित गर्ने र आगामी दिनमा जिल्लालाई थप सफलता दिलाउने अपेक्षा व्यक्त गरिएको थियो ।