काभ्रेपलाञ्चाेक, असार ४ ।
चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यसको असर सुनकोशी नदीको जलप्रवाहमा पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चाेकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट आज प्रकाशित सूचनामा भनिएको छ, “चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार असार ७ गते (जुन २१, २०२५) सम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले सुनकोशी र भोटेकोशी नदी आसपास जोखिम हुन सक्ने पूर्वानुमान गरिएको छ ।”
भोटेकोशी तथा सुनकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । विशेष गरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी, तामाकोशी, रोशी लगायतका नदी किनारमा बसोबास गरिरहेका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
नदीको सतह बढ्न सक्ने भएकाले आकस्मिक जोखिम हुन सक्ने भन्दै नदी आसपास नबस्न, सुरक्षित स्थानमा सर्न र सम्भावित बाढीप्रति सजग रहन प्रशासनले जनताको ध्यानाकर्षण गराएको छ ।