सिन्धुली, असार ४ ।
आगामी असार ७ गते सम्म अत्याधिक वर्षा हुने अनुमान गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका अनुसार तिब्बत क्षेत्रमा निरन्तर भारी वर्षा हुने सम्भावना रहेको र त्यसका कारण सुनकोशी तथा भोटेकोशी नदी आसपास डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सुनकोशी नदीमा आजभन्दा केही दिनभित्र बाढी आउन सक्ने उल्लेख गर्दै विशेषगरी सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका नदी किनारका बासिन्दालाई जोखिम हुन सक्ने जनाइएको छ ।
सुनकोशी नदी किनारका बस्तीहरू विशेष जोखिममा पर्ने भएकाले त्यहाँका बासिन्दाले नदी आसपास बसोबास गर्दा सावधानी अपनाउन र सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा बाढीबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउनसमेत सुझाव दिइएको छ ।
यसैगरी भाेटाेकाेसी र सुनकाेशी नदी किनारमा वाढिकाे जाेखिम भएकाेले सावधानी अपनाउन यस अगाडी सिन्धुपाल्चाेक र काभ्रे जिल्लाले समेत सुचना जारी गरिसकेका छन् ।