Click Chautari

तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु

सिन्धुली, जेठ २१

Advertisement
– तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त घोषणा गर्ने लक्ष्यसहित ‘पोषण बहस’ कार्यक्रम सुरु गरिएको छ। पालिकालाई बालमैत्री र पोषणमैत्री बनाउन आवश्यक नीति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनको रुपमा यो बहस सञ्चालन गरिएको हो।

तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाका अनुसार आगामी वर्षभित्र नै पालिकालाई कुपोषण मुक्त घोषणा गर्ने तयारी भइरहेको छ। बुधबार आयोजित पोषण बहस कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वयमसेविका, आमा समूह तथा सहायक संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागी सबैले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्।

तथ्यांक अनुसार तिनपाटनका बालबालिकामा पनि कुपोषण देखिएको छ, जसलाई पुड्कोपन, कम तौल, ख्याउटेपन र मोटोपनका आधारमा वर्गीकरण गरिएको छ। नेपाल सरकारले सन् २०३० भित्र देशलाई कुपोषण मुक्त बनाउने लक्ष्य लिएको छ। दिगो विकास लक्ष्यअन्तर्गत १२ वटा लक्ष्यमा पोषण सम्बन्धी सूचकहरु समेटिएका छन्।

Advertisement

तिनपाटन गाउँपालिकाले कुपोषण मुक्त घोषणा गर्न आवश्यक ४९ मध्ये १६ वटा सूचकहरु पूरा गरिसकेको उपाध्यक्ष अशोक पुलामीले जानकारी दिए। हाल पालिकाभित्रका ११ वडामध्ये वडा नम्बर १० मा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिसकिएको छ र वडालाई पोषणमैत्री बनाउने अभियान अघि बढाइएको छ।

यस अभियानमा वल्ड भिजनको सहकार्यमा सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल)ले सहयोग गरिरहेको छ। सिड्स नेपालकी कोषाध्यक्ष विमला श्रेष्ठले पोषण नीति तथा रणनीति अनुसार स्वास्थ्य, शिक्षा, सरसफाइ, कृषि तथा पशुपालन लगायतका क्षेत्रमा योजनाबद्ध काम गरी सबै सूचकहरु पूरा गरेर पालिकालाई कुपोषण मुक्त बनाउने लक्ष्य रहेको बताइन्।

पोषण बहस कार्यक्रममा पालिकाका अध्यक्ष कर्ण थापा, उपाध्यक्ष अशोक पुलामी, वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत टंक नेगी, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्था प्रतिनिधिहरु, महिला समूह, स्वयमसेविका, वल्ड भिजन, सिड्स नेपाल तथा रिलिफ नेपालका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरुले दातृ निकाय र साझेदार संस्थाको सहकार्यमा पालिकाले आफ्ना वार्षिक नीतिमा पोषण कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए।

हाल पालिकामा सुनौलो हजार दिन कार्यक्रम, आमा समूह तथा किशोरी समूह गठन, बाल क्लब सशक्तीकरण, पोषणयुक्त आहार प्रवर्द्धन, तरकारी तथा फलफूल खेती, कुखुरा तथा पशुपालन जस्ता गतिविधिहरु सञ्चालनमा छन्।

Advertisement

स्मरणीय छ, नेपालमा कुपोषणका कारण बाल मृत्युदर उच्च छ। तथ्यांकले देखाउँछ कि ४५ प्रतिशत बालबालिकाको अप्रत्यक्ष मृत्युको कारण कुपोषण हो। यस्तै, विश्व बैंकको २०१८ को प्रतिवेदन अनुसार कुपोषणका कारण नेपालजस्तो मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशतसम्म क्षति हुने गरेको छ।

गाउँपालिकाको यो पहलले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ, जसले समुदायमा पोषणप्रति चेतना बढाउनुका साथै कुपोषणको दर घटाउन सहयोग पुग्नेछ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.