प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि सिन्धुलीमा मतदाता नामावली दर्ता र अद्यावधिक कार्य उत्साहजनक बनेको छ। दशैंपछि दैनिक सयौं नयाँ मतदाताले नाम दर्ता गराइरहेका छन्। अधिकांश युवा मतदाताले पहिलोपटक आफ्नो मताधिकार सुरक्षित गर्न चासो देखाएका छन्।
असोज २७, सिन्धुली । प्रतिनिधिसभा सदस्यको फागुन २१ मा हुने निर्बाचनका लागि जिल्ला निर्बाचन कार्यालय सिन्धुलीमा मतदाताको चहल पहल बढेको छ ।
सरकारले उक्त निर्बाचनका लागि मतदाता नामावली सङ्कलन कार्य खुलाएसँगै सो कार्यालयमा आफ्नो नामावली दर्ता गर्न आउने मतदाताको चहलपहल बढ्दै गएको हो । कार्यालयमा मतदाता नामावली दर्ता अद्यावधिक गर्न आउनेको सङ्ख्या दैनिक बढ्दै गएको उक्त कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख ईश्वरनाथ मिश्र सरकारले कात्तिक ३० गतेसम्मका लागि मतदाता नयाँ दर्ता एवं अद्यावधिक खुलाएकाले सो कार्य उत्साहजनक रुपमा भई रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘भर्खर दशैं सकिएकाले मतदाता नयाँ दर्ता एवं अद्यावधिक गर्न आउने दैनिक बढी रहेका छन् । दशैंपछि नयाँ मतदाता एक सयजना भन्दा बढीले फोटो खिचि सकेका छन् । उमेर पुगेका दैनिक २५/३० जना उक्त कार्यका लागि आई रहेका छन् ।’

तस्बिर ः बाबुराम देवकोटा, सिन्धुली
आफ्नो नाम दर्ता गर्न आउने नयाँ मतदातामा अधिकांस युवा रहेका उहाँले सुनाउनुभयो । सार्बजनिक विदाको दिन र शनिबार बाहेक अरु सबै दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नयाँ मतदाताको फोटो खिच्ने र दर्ता गर्ने कार्यालयमा व्यवस्था गरिएको उहाँको भनाई छ । मतदाता नामावलिमा नाम दर्ता गराउन आवश्यक प्रचार प्रसारको कार्य पनि भई रहेको कार्यालयले जनाएको छ ।
बिगतका निर्बाचनमा त्यति धेरै चासो नदेखाएका नयाँ मतदाताहरु पनि यस पटक आफ्नो मताधिकार सुरक्षित गर्न उत्साहित भएर लागेका छन् । कमलामाई नगरपालिका–३ चपौली निवासी शिबप्रसाद सिग्देल उमेर पुगेका आफ्ना एक छोरा र एक छोरीको आईतबार जिल्ला निर्बाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएको सुनाउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘यो पटक छोराछोरीले चासो लिएर नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरी मताधिकार सुरक्षित गरेका छन् ।’ प्रतिनिधिसभा सदस्यको दुई वटा निर्बाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा यसअघि २०७९ साल मङ्सिरमा सम्पन्न उक्त निर्बाचनमा कुल मतदाता सङख्या दुई लाख आठ अजार ३६९ जना कायम रहेका जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यो बीचमा थपिएका सहित जिल्लामा कात्तिक १६ गतेसम्म मतदान गर्न योग्य दुई लाख आठ हजार ४१५ जना मतदाता कायम भएका छन् ।