कचहरी नाटकमार्फत कलाकारहरूले लैङ्गिक भेदभाव, घरेलु हिंसा, अवांछित गर्भधारण, सुरक्षित गर्भपतन, र परिवार नियोजनका सेवा–सुविधाबारे यथार्थपरक दृश्य प्रस्तुत गरे। नाटकपछिको अन्तर्क्रियामा दर्शकहरूसँग संवाद गर्दै समाधान खोज्ने प्रयास गरिएको थियो।
गोलन्जोर (सिन्धुली), जेठ १६ — लैङ्गिक हिंसा, घरेलु हिंसा, सुरक्षित गर्भपतन तथा यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यले गोलन्जोर गाउँपालिकामा जनचेतनामूलक कचहरी नाटक सफलतापूर्वक सम्पन्न भएको छ ।
कलाघर सिन्धुलीको आयोजनामा तथा मेरीस्टोप्स इन्टरनेशनल, सुनौलो परिवार नेपाल र अाेसीएमसी को सहयोगमा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई प्रत्यक्ष संवादमार्फत चेतनामूलक सन्देश दिन खोजिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष पुकार न्यौपानेको उपस्थिति रहेको थियो । साथै गोलन्जोर-३ का वडाध्यक्ष कृष्ण पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपसाखागोलन्जोर गाउँपालिका अध्यक्ष गौरव कार्की, लगायत स्थानिय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कचहरी नाटकमार्फत कलाकारहरूले लैङ्गिक भेदभाव, घरेलु हिंसा, अवांछित गर्भधारण, सुरक्षित गर्भपतन, र परिवार नियोजनका सेवा–सुविधाबारे यथार्थपरक दृश्य प्रस्तुत गरेका थिए । नाटकपछिको अन्तर्क्रियामा दर्शकहरूसँग संवाद गर्दै समाधान खोज्ने प्रयास गरिएको थियो ।

कार्यक्रमका निर्देशक ‘नेपाली बाबू’ सुमनको परिकल्पनामा तयार पारिएको नाटकमा सिन्घुली कलाघरका कलाकारहरू रिता थिङ, सिर्जना गोले, निरुता लामा, जीवन थापा मगर, रिता बिक, रुबिना पुलामी, करुणा नेपाली, विकास पहेली, विशाल सङ्कर, कलम श्रेष्ठ, ममता श्रेष्ठ लगायतको सशक्त अभिनय रहेको थियो ।

दर्शकले विषयवस्तुलाई मनन गर्दै खुलेर आफ्ना धारणा प्रस्तुत गरे । कार्यक्रमले समुदायभित्र लुकेका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू खुलस्त गर्न र समाधानतर्फ निर्देशित गर्न सफल भएको सहभागीहरूको भनाइ छ ।
कला र सिर्जनाको माध्यमबाट संवेदनशील विषयमा खुलेर छलफल गर्न सकिने उदाहरणस्वरूप यो कार्यक्रमले सामुदायिक तहमा जनचेतना अभिवृद्धि गर्ने आशा गरिएको छ । आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै लैङ्गिक समानता र सुरक्षित स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।