सिन्धुली, जेठ २२
– विश्व वातावरण दिवस २०८२ को अवसरमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा १५ हजार अम्रिसोका विरुवा रोपिएका छन् । गोलन्जोर गाउँपालिका–४ स्थित गुर्दुमको महाकाली सामुदायिक वन क्षेत्रमा आयोजित वृक्षारोपण कार्यक्रममा अम्रिसोका विरुवाहरू रोपिएको हो ।
गोलन्जोर गाउँपालिकाको समन्वयमा सिन्धुली एकीकृत विकास सेवा संस्था (सिड्स) नेपालको आयोजनामा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नं. ४ का अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा लगायत सामुदायिक वनका पदाधिकारी, स्थानीय बासिन्दा, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

वृक्षारोपणका लागि आवश्यक १५ हजार अम्रिसोका विरुवा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत वर्ल्ड भिजनको सहयोगमा खरिद गरिएको सिड्स नेपालले जनाएको छ ।
कार्यक्रमका अवसरमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले भने, “वृक्षारोपणले भू–संरक्षण, जलाधार तथा वातावरण संरक्षणमा योगदान त दिन्छ नै, साथै अम्रिसो खेतीबाट स्थानीयले आर्थिक लाभ लिन सक्ने सम्भावना पनि उच्च छ ।” उनले महाभारत क्षेत्रलाई अम्रिसो तथा अंलैची खेतीको केन्द्रका रूपमा विकास गर्ने योजनासमेत गाउँपालिकाले अघि सारेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले वातावरण संरक्षणमा सरकार, स्थानीय संस्था तथा नागरिकको साझा दायित्व रहेको भन्दै व्यावसायिक अम्रिसो खेतीले दीगो आम्दानीको स्रोत बन्ने विश्वास व्यक्त गरे । साथै, आगामी आर्थिक वर्षको बजेटमा अम्रिसो तथा अंलैची खेतीलाई प्राथमिकता दिइने उनले बताए ।

सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापाले वातावरण संरक्षणका लागि अम्रिसो, अंलैची, सिन्कौली र बाँस जस्ता बहुपयोगी बोटबिरुवा लगाउने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “यी खेतीहरूले वातावरणलाई मात्र होइन, स्थानीय समुह र परिवारको आम्दानीमा पनि ठुलो टेवा पुर्याउँछ ।”
गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र अम्रिसो, अंलैची तथा सिन्कौली खेतीका लागि उपयुक्त हावापानी भएको भूगोल हो। यहाँका स्थानीयहरूले निजी र सामुदायिक वनमा अम्रिसो खेती गर्दै मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीयस्तरमा यसको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्दै लैजाने हो भने गोलन्जोर क्षेत्र हरित आर्थिक विकासको उदाहरणीय नमुना बन्ने सम्भावना छ ।