सिन्धुली, असार २० — सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाकी एक ९ वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिका निवासी प्रकाश राईकी छोरी प्रतिमा राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शुक्रवार बिहान ११ बजेतिर घरबाट करिब २०० मिटर उत्तरतर्फ रहेको तिनकुना खोलानजिक सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा प्रतिमा डुबेकी थिइन्। डुबिरहेको अवस्थामा प्रतिमालाई उनका बाबुले देखेपछि तत्कालै उद्धार गरी उपचारका लागि मकवानपुरको बागमती गाउँपालिका–४ स्थित सान्भी मेडिकल लगिएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मकवानपुर पठाउने तयारी भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।