सिन्धुली, जेठ २९
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२, सामरी बेसारडाँडामा चट्याङ लागेर एकै परिवारका आमा र छोरी घाइते भएका छन् ।
जेठ २९ गते सोमवार दिउँसो करिब ४ बजे चट्याङ पर्दा स्थानिय शोभा सिंह जिम्बाकी ४२ वर्षीया श्रीमती फुलमाया जिम्बा र उनीकी १० वर्षीया छोरी साङ्ग्री माया जिम्बा घाइते भएका हुन् । दुवैजना गोठमा काम गरिरहेकै बेला आकस्मिक रूपमा परेको चट्याङले उनीहरूलाई क्षती पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् ।
चट्याङबाट आमा फुलमायाको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर नभए पनि बोल्नमा केही असहजता देखिएको र उनी शारीरिक रूपमा कमजोर देखिएको जनाइएको छ । यता छोरी साङ्ग्री मायाको अवस्था भने सामान्य रहेको छ, र उनी हिँडडुल गर्न सक्ने अवस्थामा रहेको प्राथमिक जानकारीमा उल्लेख गरिएको छ।
दुबैलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोट लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक ठहर गरिँदै जिल्ला अस्पताल रिफर गरिएको कपिलाकोट स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ ।
स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा घाइतेहरूको उपचार प्रक्रिया अघि बढाइएको छ । यस क्षेत्रका अन्य बासिन्दालाई समेत मौसमको प्रतिकूल अवस्थाको बेला सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
सिन्धुलीमा वर्षासँगै चट्याङ लाग्ने घटनाहरू बढिरहेका छन् । यसअघि पनि वर्षेनी यस्ता घटनाबाट मानवीय क्षति हुँदै आएको हुँदा सुरक्षाका उपायहरू अवलम्बन गर्न विज्ञहरूले सुझाएका छन् ।